पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा वडा प्रहरी कार्यालय धनगढीका इन्सपेक्टर गौरी जैशी र एक जना अर्को प्रहरी जवान घाइते भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि हात हालाहाल भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले सामान्य धरपकड भएको बताए ।
‘प्रदर्शनकारीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नै नारा जुलस भइरहेको थियो’, उनले भने, ‘राँके जुलुस निकाल्न खोज्दा प्रहरीले रोक्न खोजेको हो । त्यसैक्रममा प्रहरीतर्फ इन्सपेक्टरसहित २ जना सामान्य घाइते भएका छन् ।’
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले जनाएका छन् ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ रुपैयाँ कायम भएको छ ।
प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध पनि नारावाजी गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।