पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिका वडा नं २ एकतीनमा रंगशाला निर्माणका लागि श्रीमद्भागवत सप्ताह महापुराण आयोजना गरिएको छ । फालेलुङ–२ एकतीनमा निर्माण थालिएको फालेलुङ रंगशालाको ऋण चुक्ता गर्न तथा निर्माण सम्पन्नताका लागि सहयोग संकलन गर्ने उद्देश्यका साथ बिहीबारदेखि महापुराण आयोजना गरिएको हो ।
जिल्लाकै नमुना रंगशालाका रूपमा विकास गर्ने उद्देश्यका साथ निर्माण थालिएको उक्त रंगशालाका लागि २० रोपनी जग्गा खरिद भइसकेको छ । उक्त जग्गा खरिदबापतको रकम भुक्तानी गर्ने, रंगशाला निर्माणको कार्यलाई अघि बढाउने, शिवगंगा, आगेजुङ, महादेवस्थान, जोरपोखरीलगायत पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महापुराण आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।
महापुराणको पूर्वमन्त्री एवं सांसद गगनकुमार थापाले शुभारम्भ गरे । सो अवसरमा सांसद थापाले धार्मिक कार्यमार्फत खेलकुद क्षेत्रको विकासमा लगानी गर्ने प्रयत्न गरिनु प्रशंसनीय रहेको बताए ।
उनले धार्मिक सहिष्णुता अभिवृद्धि, खेलकुद र पर्यटन प्रवर्द्धनमा महापुराण सफल हुने विश्वास व्यक्त गरे । महापुराणमा पण्डित होमनाथ ढुंगेल प्रमुख कथावाचकका रुपमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।