चार करोड लगानीमा गाेरखामा जडीबुटी खेती

गोरखा– गोरखा नगरपालिका–१४ स्थित गोर्वुङमा करिब चार करोड रुपैयाँको लागतमा जडीबुटी खेती सुरु भएको छ । आयुर्वेदिक औषधि बनाउन भारतीय बजारबाट आयात गर्नुपर्ने जडीबुटी नेपालमै उत्पादन गर्ने उद्देश्यले जडीबुटी खेती सुरु गरिएको हो ।

गोरखा आयुर्वेदिक कम्पनीलाई बिक्री गर्ने गरी गोरखा प्रांगरिक हर्बल फार्म दर्ता गरी जडीबुटी खेती सुरु गरिएकोे फार्मका सञ्चालकसमेत रहेका वनस्पती विज्ञ डा. खेमराज भट्टराईले बताए । ‘गोर्बुङमा करिब एक सय रोपनी जग्गा खरिद गरेर अहिले ६० जातका जडीबुटी खेती सुरु भएको छ,’ सञ्चालक डा. भट्टराईले भने, ‘अझै यही ठाउँमा मात्र थप ३० जातका जडीबुटीको व्यावसायिक खेती गर्न सकिन्छ ।’ 

फार्ममा अमला, अशोक, मोरिंगा, दालचिनी, तेजपत्ता, कोइराला, निम्स, कालमेगलगायत जडीबुटी खेती गरिएको उनको भनाइ छ । ‘समुद्र सतहदेखि करिब ६ सय ५० मिटर उचाइमा रहेको गोर्बुङ अमलाका लागि सबैभन्दा उपयुक्त भएकाले फार्ममा सबैभन्दा धेरै ठूलो जातको अमला लगाइएको सञ्चालक डा. भट्टराईले जानकारी दिए । 

‘सबैभन्दा धेरै एक हजार बोट अमला लगाएका छौँ, त्यो पनि यहाँको नभई भारतबाट ल्याइएका उन्नत जातको अमला हो, अमला मात्रै करिब ४० रोपनी क्षेत्रफलमा खेती गरेका छौँ,’ उनले भने । लेकमा सीमित जडीबुटी हुने, तर गर्मी ठाउँमा बढी पाइने भएकाले खेतीका लागि उक्त ठाउँ छनोट गरिएको डा. भट्टराईले बताए । 

फार्ममा जडीबुटीको बेर्ना उत्पादनका लागि हरितगृह र उत्पादन भएका जडीबुटी सुकाउनका लागि एउटा सोलार डायर निर्माण गरिएको छ । जडीबुटी खेतीका लागि करिब ५ सय मिटरको दूरीमा रहेका खोलाबाट पानी ‘लिफ्ट’ गरेर ल्याइएको उनले बताए । ‘फार्ममा अहिले चारजना कामदार छन्, पुस महिनापछि दुईजना कर्मचारी थप गर्ने योजना रहेको छ,’ डा. भट्टराईले भने । 

फार्मबाट उत्पादित जडीबुटी जिल्लामा रहेको आयुर्वेदिक कम्पनीलाई बिक्री गर्न सुरु गरिएको उनले बताए । उनले भने, ‘छिटो हुने भएकाले हामीले ४० हजार रुपैयाँजतिको जडीबुटी बिक्री गरिसकेका छौँ ।’ 



हाल गोरखा जिल्लामा रहेको गोरखा आयुर्वेद कम्पनीले मात्रै भारतबाट वार्षिक करिब पाँच करोड भन्दा बढीको जडीबुटी आयात गर्दै आएको छ । उक्त जडीबुटी सोही फार्मबाट उत्पादन गर्न सकिने भएकाले व्यावसायिक रूपमा खेती सुरु गरिएको डा. भट्टराईले बताए । ‘पूर्ण रुपमा सञ्चालनमा आएपछि यही फार्मबाट वार्षिक एक करोड रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हाम्रो योजना गोरखा जिल्लालाई जडीबुटीमा आत्मनिर्भर बनाउने हो ।’ 

उत्पादित जडीबुटी गोरखासँगै अन्य जिल्लामा पनि निर्यात गर्ने योजना रहेको उनको भनाइ छ । गोर्बुङमा पूर्ण रूपमा फार्म सञ्चालन आएलगत्तै गोरखाकै पालुङटार नगरपालिका–८ धुवाँकोटमा दुई सय रोपनी र तनहुँको बन्दीपुर क्षेत्रमा पनि दुई सय रोपनी क्षेत्रफल जमिन खरिद गरेर जडीबुटी खेती सुरु गर्ने तयारी भइरहेको सञ्चालक डा. भट्टराईले जानकारी दिए । 



उनीसँगै मणिध्वज जोशी, भगवतीकुमारी मैनाली उप्रेती र रामहरि सुवेदी गरी चारजनाले जडीबुटी खेतीमा लगानी गरेका छन् । विसं २०४० मा स्थापना भएको गोरखा आयुर्वेदिक कम्पनीले उत्पादन गर्ने अधिकांश औषधि उत्पादनका लागि कच्चापदार्थ भारतबाट आयात गर्दै आएको छ । 

  • प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार १३:५८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया