राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरूले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गरेका छन् ।
बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गरेका हुन् । परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् ।
ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीमा परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत ५ महिनायता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताए । राष्ट्रिय खेलकुद परिषद्मा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको बताए ।
'हामीले ज्ञापनपत्र बुझाएका छौँ र बैठक नबसेको लगभग डेढ वर्ष हुन लागेको छ । त्यस कारणले गर्दा यो बोर्डको बैठक छिटोभन्दा छिटो बोलाइयोस् भनेर अनुरोध गरेका छौँ । लिखित रूपमा निवेदन पनि दिएका छौँ । उहाँको भनाइ अनुसार अहिलेको अवस्थामा सदस्य सचिव नभएकोले गाह्रो छ भन्नुभएको छ । तर ऐनअनुसार हामीले बुझेको उपाध्यक्ष बिना पनि बोर्डको बैठक बसाउन सक्नुहुन्छ । हामीले खेल र खेलाडीको लागि, खेलकुद परिषद् भित्रको अन्योलताको निकासको निम्ति आह्वान गरेका छौँ’ उनले भने ।
त्यस्तै, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले परिषद्मा अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति बन्नुको कारण खेलकुद मन्त्रीको अकर्मण्यता भएको आरोप लगाए । उनले राखेपले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि मन्त्रीका कारण लथालिङ्ग भइरहेको बताए । उनले खेलाडी र खेलमा राजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गरे ।
'खेल क्षेत्रमा नवौं राष्ट्रिय खेलकुद गर्नुपर्ने मन्त्री अकर्मण्यताका कारणले गर्दा लथालिङ्ग छ । उहाँले सदस्य सचिव हटाउनु भयो । त्यो भएको कारणले बोर्डका सबै सदस्यहरुले छिटो बैठक बस्न माग गरिएको हो । मन्त्रीले भेट्न चाहनुभएको छैन । यहाँ दर्ता गरेर तत्काल बैठक बोलाइयोस् भन्ने माग हो । खेलकुदलाई दर्बिलो बनाउन खेलमा राजनीति नगर्न मन्त्रीज्यूलाई आग्रह गर्दछौँ,’ उनले भने ।
अध्यक्ष पौडेलले खेल क्षेत्रमा छाएको अन्योलताको निकासका निम्ति राष्ट्रिय खेलकुद महासंघका सदस्यले युवा तथा खेलकुद मन्त्रीलाई भेट्ने समय मागे पनि भेट्न मन्त्री गहतराजले नभेटेको बताए । उनले खेलकुद मन्त्रीको यस्तो व्यवहारले खेलाडीको आत्मबल घट्दै गएको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।