सुर्खेतमा दोब्बरले बढे क्यान्सरपीडित, प्रदेश अस्पताल आउनेमध्ये दैनिक दुईदेखि तीनजनामा क्यान्सर

आर्थिक वर्ष २०७५–०७६ सालमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट १० जना क्यान्सरपीडितले उपचार गर्न आउँदा लाग्ने यातायात बापतको खर्च लगे । सामाजिक विकास मन्त्रालयमार्फत जनस्वास्थ्य सेवा कार्यालयले प्रतिव्यक्ति १० हजारका दरले उक्त रकम वितरण गरेको हो । 

त्यस्तै, आर्थिक वर्ष २०७६–०७७ मा ३९ जनाले उक्त शीर्षकबापतको रकम लिए । आर्थिक वर्ष २०७७–०७८ मा ७३ जना र चालू आर्थिक वर्षमा ५० जनाले क्यान्सरपीडितका लागि छुट्याइएको यातायातबापतको रकम शीर्षकबाट १० हजारका दरले रकम लिएका हुन् । 

पछिल्लो समय सुर्खेतमा दीर्घरोगी (क्यान्सरपीडित)को संख्या दोब्बरले बढेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

कार्यालयका अनुसार क्यान्सर पीडितहरुले यातायात बापतको रकमका लागि दिएको निवेदनको आधारमा क्यान्सरपीडितहरु बढेको देखिएको हो । चालू आर्थिक वर्षमा १५ वटा निवेदन आएको र रकम भुक्तानीको प्रक्रियामै रहेको कार्यालयले जानकारी बताएको छ । 

कार्यालयका नसर्ने रोग फोकल फर्सन अम्मर रानाले यो नै यकिन तथ्यांक नभएको बताए । ‘यो अन्तिम तथ्यांक होइन,’ उनले भने, ‘यातायात बापतको रकम लिनका लागि निवेदन दिएकै आधारमा यो तथ्यांक आएको हो ।’ रानाले यातायातको रकम नलिनेहरु पनि थुप्रै भएकोले क्यान्सरपीडित बढेको हुन सक्ने अनुमान लगाए ।

सामाजिक विकास मन्त्रालयले प्रदेशका १० वटा जिल्लाका जनस्वास्थ्य सेवा कार्यालयमार्फत क्यान्सरपीडितलाई उपचार गर्न आउने यातायात बापतको खर्च उपलब्ध गराउँदै आएको हो । 



सुर्खेत जिल्लामा भने चालू आर्थिक वर्षको पहिलो चौमासिकमा दुई लाख र दोस्रो त्रैमासिकमा तीन लाख रुपैयाँ मन्त्रालयले पठाएको हो । क्यान्सरपीडितको निवेदनका आधारमा मन्त्रालयबाट रकम माग गर्ने र पीडितहरुलाई उपलब्ध गराउँदै आएको रानाले बताए । 
 
बिहीबार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको आयोजना तथा नेपाल अर्बुद रोग निवारण संस्था सुर्खेतको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा रानाले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् । 

उनले यातायात बापतको रकम लिनका लागि क्यान्सर पीडितहरुले स्थानीय तहले सहुलियतका लागि गरेको सिफारिस, अस्पतालले रोग निदान गरेको प्रमाणपत्र, पीडितको नागरिकताको प्रतिलिपि र बैंकखाताका आधारमा क्यान्सर रोग तथा यसको कारण र निवारण विषयमा जानकारी दिए । प्रस्तुतीकरण दिँदै प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले समेत कर्णालीमा क्यान्सरपीडित बढेको जानकारी दिए ।
 
‘हामीसँग यति नै क्यान्सरपीडित छन् भन्ने तथ्यांक त छैन,’ उनले भने, ‘तर प्रदेश अस्पतालमा आउने बिरामीमा दैनिक दुईदेखि तीनजना क्यान्सरपीडितहरु फेला पर्छन् ।’ उनले विशेषगरी महिलाहरुमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर, मृगौला र पुरुषहरुमा पनि फोक्सोको क्यान्सर, मृगौलाको क्यान्सरलगायतको समस्या देखिने गरेको उनले बताए ।



उनले प्रदेश अस्पतालको सेवामा विस्तार भएको कारण पनि दैनिक क्यान्सरपीडितहरु फेला पर्ने गरेको बताए । सरुवा रोगभन्दा नसर्ने रोगबाट मानिसहरु बढी पीडित भएकोले सरकारले क्यान्सरपीडितहरुलाई निःशुल्क उपचार गर्ने व्यवस्था गर्नुपर्ने डा. पौडेलले तर्क गरे । 

उपचारको क्रममा पत्ता लगाएका क्यान्सरपीडितलाई उपचार सम्भव नभएपछि घर फर्कन सल्लाह दिँदै आएको भन्दै उनले क्यान्सरले न सम्पत्ति न त ज्यानै बचाउने भएकाले राज्यले यसमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले समयमै पत्ता लगाउन सके क्यान्सरबाट मानिसले मुक्ति पाउने बताए । आनीबानी र खानपानमा विशेष ध्यान दिने र जनचेतना फैलाउन सके क्यान्सरबाट नागरिकलाई बचाउन सकिने उनले बताए ।

  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १९:२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया