राष्ट्रपति भण्डारी भन्छिन् - कार्यकारीले ल्याएअनुसार काम गर्दै आएको छु

​राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा स्थानीय तह र प्रदेश सभाका प्रतिनिधिले निर्वाचित गर्ने प्रतिनिधिको पनि प्रतिनिधिमूलक संस्था भएकाले यसको भूमिका विशिष्ट भएको बताएकी छन् । 

राष्ट्रपति भवनमा शुक्रबार संघीय संसद सचिवालयद्वारा प्रकाशित 'संसदमा समिति प्रणाली (राष्ट्रिय सभा विशेष)' पुस्तक सार्वजनिक गर्दै उनले राष्ट्रिय सभाले आफ्नो विशिष्ट भूमिकाको पहिचान गरी नियमित काम सँगै अभिलेख व्यवस्थापन, अनुसन्धान र प्रकाशनमा समेत ध्यान दिएकोमा खुसी व्यक्त गरिन् ।

'अहिले सांसदहरूले अध्ययन, लेखन अनुसन्धानमा त्यति ध्यान नदिएको कुराहरू आउने गर्छन्,' राष्ट्रपति भण्डारीले भनिन्, 'राष्ट्रिय सभा र संसद सचिवालयले अध्ययन, लेखन तथा प्रकाशन गर्ने परम्पराको थालनी गरेको छ । यसको निरन्तरताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।'

राष्ट्रपति भण्डारीले संसद संविधान जारी गर्ने, संशोधन गर्ने, सरकार बनाउने, सरकारले संविधान र कानुन बमोजिम काम गरे वा नगरेको निगरानी गर्ने तथा जनताको पक्षमा काम गर्न निर्देशन गर्ने विशिष्ट थलो भएको बताइन् ।

'संघीय संसदले आफ्नो भूमिका र जिम्मेवारी बोध गर्दै समयअनुसार प्रभावकारी ढंगले काम गर्न म आग्रह गर्दछु,' उनले भनिन्, 'संसदका सबै बैठक, गतिविधिलाई राम्रोसँग अभिलेखीकरण गरेमा भविष्यमा यसका अध्येता र अभ्यासकर्तालाई सहज हुनेछ ।'

राज्यका सबै निकायले आफ्नो भूमिका संविधान र कानुन बमोजिम निर्वाह गरेमा लोकतन्त्र र देशको अर्थतन्त्र मजबुद बन्दछ । संविधानले राष्ट्रपतिलाई कार्यकारी नभै संवैधानिक बनाएको उल्लेख गर्दै उनले भनिन्, 'कार्यकारीले ल्याएअनुसार राष्ट्रपतिले काम गर्ने हो । मैले त्यहीअनुसार नै काम गर्दै आएको छु ।'    



त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सभा गठन भएको चार वर्षमा सभा र समिति भित्रका अभ्यास र अनुभव बारेको पुस्तक संसदका समिति प्रणालीको अध्ययनका लागि महत्वपूर्ण हुने बताइन् । 



  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १६:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया