हेटौंडा बन्यो लागुऔषधको 'ट्रान्जिट पोइन्ट' : लगानी गर्छन् भारतीय, भरिया बन्छन् चेपाङ युवा

बागमती प्रदेशको राजधानी हेटौंडा लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । प्रदेशको राजधानी भएपछि राजनीतिक वृत्तमा चर्चामा आएको हेटौंडा पछिल्लो समय लागुऔषधका कारण कुख्यात बन्दै गएको हो ।

लागुऔषध गाँजाको उत्पादन र तस्करीको केन्द्र मकवानपुर पछिल्ला दिनमा प्रहरीले दिनहुँजसो अन्य कडा किसिमका लागुऔषध बरामद गर्ने गर्न थालेको छ । गाँजाका साथै प्रहरीले डाइजेपाम, फेनार्गन, नुरफिनलगायतका लागुऔषध पनि बरामद गरिरहेको छ ।

गाँजाको हब

मकवानपुरका सबैपालिकामा अवैध गाँजा खेती हुने गरेको छ । हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा गाँजा खेती प्रहरीको नजरमा परिहाल्ने भएकोले अत्यन्तै कम भए तापनि अन्य पालिकामा गाँजा खेती ठूलो मात्रामा हुने गरेको छ । प्रहरीले सधैँजसो गाँजा नियन्त्रणमा प्रयास गरे पनि भौगोलिक विकटताको कारणले गाँजाखेती रोक्न नसकेको प्रहरीको दाबी छ ।

तर, प्रहरीले महिनौँ अभियान नै चलाएर गाँजाखेतीको ब्याड नै नष्ट गर्ने गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल बताउँछन् ।

प्रहरीका अनुसार गाँजाखेतीमा अधिकांश भारतीय नागरिकले लगानी गर्छन् । भरिया र किसान भने मकवानपुरको कैलाश, राक्सिराङ, भीमफेदी, मनहरी, बकैया रहेका छन् । गाँजाखेतीमा र तस्करीको भरियामा अधिकांश राक्सिराङवासी चेपाङ समुदायका व्यक्ति रहेका छन् । 



मकवानपुरका प्रहरी नायव उपरीक्षक रिमालका अनुसार मकवानपुर प्रहरीले आव ०७३/०७४ मा २०३ जना, ०७४/०७५ मा २३७ जना, ०७५/०७६ मा २०६ जना, ०७६/०७७ मा १८७ जना, ०७७/०७८ मा १५१ जना र चालु आवको हालसम्म ९४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।



तीमध्ये १०६ जना भारतीय छन् भने बाँकी ९७२ जना नेपाली नागरिक हुन् । त्यसमा पनि मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका बासिन्दा बढी छन् ।

गाँजा फडानी गर्दा पनि घटेन उत्पादन

प्रहरीले गाँजा फडानी गरे पनि उत्पादन तथा  बेचबिखन घटेको छैन । मकवानपुर प्रहरीले पछिल्लो पाँच वर्षमा जिल्लाको ३ हजार ४५ बिघा ४३ कट्ठामा लगाएको गाँजा फडानी गरेर नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांकअनुसार प्रहरीले आव ०७२/०७३ मा ८५८ बिघा ९ कट्ठा १० धुर, ०७३/०७४ मा ४१५ बिघा ६ कट्ठा ९ धुर, ०७४/०७५ मा ३९४ बिघा ९ कट्ठा, ०७५/०७६ मा ३४२ बिघा २ कट्ठा, ०७६/०७७ मा ५६३ बिघा १ कट्ठा, ०७७/०७८ मा ४६२ बिघा १ कट्ठा र चालु आवको हालसम्म १५०  बिघाभन्दा धेरैमा लगाएको गाँजा फडानी गरी नष्ट गरिएको छ । 

भीमफेदी कारागारले दिएको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा विभिन्न खाले लागुऔषधसहित पक्राउ परेर कारागार चलान हुनेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिकाका मात्रै ९० जना रहेका छन् । कारागारका जेलर मदन लामाका अनुसार पछिल्लो पाँच वर्षमा १ हजार ७४ जना विभिन्न प्रकारका लागुऔषसहित पक्राउ परेको मुद्दामा कारागार पुगेका छन् । 

अन्य लागुऔषधको कारोबार पनि बढ्यो

गाँजाको उत्पादन रोक्न मुस्किल परेको मकवानपुर प्रहरीलाई पछिल्लो समय औषधीजन्य लागुऔषधको कारोबारले चुनौती दिएको छ । हप्तैपच्छिे ठूलो मात्रामा गाँजा समात्ने गरेको मकवानपुर प्रहरी अहिले औषधीजन्य लागुऔषध पनि हप्तैपिच्छे जस्तो बरामद गरिरहेको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक रिमालका अनुसार भारतीय सीमा नाका रक्सौल नजिकै रहेकोले तस्करी बढिरहेको हो । यस्तै, हेटौंडा ठूला शहरको बीचमा रहेकोले लागुऔषधको ट्रान्जिट पोइन्ट बनिरहेको प्रहरीको विश्लेषण छ । 

हेटौंडाबाट भरतपुर, काठमाडौं उपत्यका, सिन्धुली र दक्षिणमा वीरगञ्ज जस्ता ठूला शहरहरू नजिक पर्छन् भने यी सबै शहरसित हेटौंडाको राजमार्गको सीधा सम्पर्क छ ।

गिरोह नै सक्रिय

मकवानपुर प्रहरीले पछिल्लो समय बढेको औषधीजन्य लागुऔषधको कारोबारलाई लिएर युवामाथि विशेष निगरानी राखेको छ । डेरामा बस्ने युवा, सवारी साधनले गर्न सक्ने तस्करी, सार्वजनिक सुनसान क्षेत्रमा हुनसक्ने कारोबारमा निगरानी बढाएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार राति हेटौंडा १९ बस्तिपुरबाट प्रहरीले ठूलो मात्रामा  लागुऔषध बरामद गरेको छ । अवैध लागुऔषध डाइजेपाम, फेनार्गन, नुरफिनसहित मकवानपुर बकैया–४, छतिवनकी २९ वर्षीया नानिमाया खत्रीलाई प्रहरीले हेटौंडा–१९, बस्तीपुरबाट पक्राउ गरेको हो ।

शुक्रबार राति ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकको प्रहरी टोलीले खत्रीलाई बस्तीपुरस्थित डेराबाट पक्राउ गरेको जनाएको छ ।

खत्रीको डेराबाट डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुरफिन २५० एम्पुल गरी जम्मा ७९८ एम्मपुल बरामद भएको प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले लागुऔषध कारोबार गर्ने गिरोह नै रहेको र ती गिरोहलाई पक्राउ गर्न प्रहरी सक्रिय रहेको दाबी गरे । बरामद भएको लागुऔषधसहित खत्रीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

यसअघि गत हप्ता लागुऔषध नाइट्रोभेट १ सय १७ ट्याब्लेटसहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।  गत हप्ता शुक्रबार साँझ ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–४ मा सवारीसाधन रोकी सुरक्षाजाँच गर्दा भुटनदेवीमोडतर्फबाट शीतल महल चोकतर्फ जाँदै गरेको गरेको बा २४ प ४५९५ को मोटरसाइकलका चालक हेटौंडा–४ का ३४ वर्षीय अनिल कुमार तामाङलाई नाइट्रोभेट ४८ ट्याब्लेटसहित पक्राउ गरेको हो ।

यस्तै, शुक्रबार नै दिउँसो २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० बसपार्कबाट बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२२ का २३ वर्षीय अनिष तामाङलाई सुरक्षाजाँच गर्दा नाईट्रोभेट ६९ ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । त्यसअघि पनि प्रहरीले हप्तैपिच्छे जस्तो लागुऔषधसहित मानिसहरु नियन्त्रणमा लिइरहेको छ ।

  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १९:२०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया