प्रदेश-१ का मुख्यमन्त्री राईले गरे मन्त्रिपरिषद् विस्तार, थपिए आठ मन्त्री

प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले यसअघिको सात सदस्यीय मन्त्रिमण्डललाई विस्तार गर्दै १३ सदस्यीय पुर्‍याएका हुन् ।

नयाँ मन्त्रिपरिषद्मा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीको तर्फबाट तीन/तीन र माओवादी केन्द्रको तर्फबाट दुईजना मन्त्री बनेका छन् । थपिने मन्त्रीमा कांग्रेसको तर्फबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओम सरावगी र ताप्लेजुङका प्रताप प्रकाश हाङमाङ रहेका छन् । 

थापालाई वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङ्गामलाई भूमि तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट खोटाङका रामकुमार राई (पासाङ) र झापाका झलकसिंह दर्लामी मन्त्री बन्दैछन् । राईलाई सिँचाई, खानेपानी तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बन्ने भएका छन् । जसमध्ये राईलाई सामाजिक विकास मन्त्रालय र लिम्बूलाई पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । घिमिरेलाई भने थप एक मन्त्रालय विस्तार गर्दै सञ्चार तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश-१ मा अब मन्त्रालयकाे संख्या १३ पुगेको छ । प्रदेश-१ को मन्त्रिपरिषद्मा कांग्रेसबाट पाँच, नेकपा (एस) बाट मुख्यमन्त्रीसहित चार, माओवादी केन्द्रबाट तीन, जसपाबाट एक र संघीय लोकतान्त्रिक मञ्चबाट एकजना राज्य मन्त्री छन् । 



संघीय लोकतान्त्रिक मञ्चलाई यसअघि नै राज्यमन्त्री दिइएको थियो । साथै, यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन् । यसअघि नियुक्त आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको जिम्मेवारी यथावत राखिएको छ भने सामाजिक विकासमन्त्री रहेको जयराम यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीले सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे भने यस पटक पनि राज्यमन्त्री कै हैसियतमा रहने छिन् । सपथग्रहण कार्यक्रमको तयारी भइरहेको छ । मन्त्री बन्नेहरू प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका छन् ।  



  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १२:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया