कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियार आज पाँच जनालाई मन्त्री नियुक्त गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको हो ।
सिफारिस भएका पाँच जना मन्त्रीहरूले आज निर्धारित समयमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख परियारले उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
आज नियुक्त भएका मन्त्रीहरू छिरिङ डम्बुल लामा उर्फ कार्चेन लामाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास मन्त्रालय, पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, गणेशप्रसाद सिंह (जाजरकोट) जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्ने छन् ।
कर्णाली प्रदेश सरकारले पूर्णता पाए पनि मन्त्रिपरिषद् भने महिलाविहीन बनेको छ । सरकारमा मुख्यमन्त्रीसहित आठ जना मन्त्रीहरू छन्, तर ती सबै पुरुष हुन् । मन्त्री बन्नसक्ने क्षमता भएका महिला सांसद भए पनि राजनीतिक दलहरूले महिलालाई मन्त्री पदका लागि सिफारिस गरेनन् ।
यसअघि नेकपा माओवादी केन्द्रबाट विमला केसी र सीताकुमारी नेपाली मन्त्री भएका थिए । तर, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तीन दलीय गठबन्धनको सरकारले महिलालाई उपेक्षा गरको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।