जब लतालाई मन्दविष दिने प्रयास गरिएको थियो...

भारतीय सिनेमामा स्वर कोकिला भनेर पनि चिनिने लता मंगेशकरको निधन भएको छ । उनलाई एक महिना पहिले नै कोरोनाभाइरस संक्रमण भएपछि मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा नै आइतबार विहान भारतीय समयअनुसार आठ बजेर १२ मिनेट जाँदा उनको मृत्यु भएको हो ।

भारतीय संगीतमा चाहिँ लताको नाम अमर रहनेछ ।

सन् १९४३–४४ को कुरा हो । भारतको कोल्हापुरमा एक फिल्म सुटिङ भइरहेको थियो । त्यति बेलाकी भारतीय एक गायिका नूरजहाँ आफ्नो गीत रेकर्डिङका लागि त्यहाँ पुगेकी थिइन् । त्यही फिल्ममा एउटा बालिकाको रोल पनि थियो । त्यो फिल्मका निर्माताले गायिका नूरजहाँलाई एक बालिकासँग भेट गराए ।

नूरजहाँ सुन्दै गइन्, ती बालिकाले गाउँदै गइन् । ती बालिका अर्थात् लता ।

फिल्ममा सानातिना रोल गर्ने यी बालिकाको गायन सुनेर नूरजहाँले भनेकी थिइन्– पछि राम्रो हुनसक्छ, रियाज गर्दै गर्नु । रोजीरोटीका लागि फिल्महरुमा सानातिना रोल गर्ने ती बालिका नै पछि गएर स्वर कोकिला बनिन्, लता मंगेशकर बनिन् । कतिसम्म भने कुनै समय यस्तो थियो, लता गायिका मात्र होइन, लाखौँ भारतीयहरुको जीवनशैलीसमेत बनिन् ।

गायिका मात्र होइन, लताले जीवनमा अरु धेरै काम गरेकी थिइन् । तर, यसबारे अधिकांश मानिसहरुलाई थाहा छैन । लताको संगीतको पारखबारे पनि धेरै जनालाई थाहा नहुन सक्छ । जस्तो कि उनको अर्को नाम पनि थियो, आनन्दघन । आनन्दघनको नामबाट नै लताले सन् १९६० को दशकमा चार मराठी फिल्ममा संगीत दिएकी थिइन् । 



त्यसो त लताकै नामबाट उनले मराठी फिल्ममा सन् १९५० मा नै संगीत दिएकी थिइन् ।

सबैभन्दा रमाइलो त के भने मराठी फिल्म साधी माणसलाई त्यति बेला सर्वश्रेष्ठ संगीतको पुरस्कार दिइएको थियो । यो फिल्ममा आनन्घनको नामबाट लताले संगीत भरेकी थिइन् । तर, उनी पुरस्कार लिन आनन्दघनको नाम बोलाइँदा समारोहमा बसिरहिन् । त्यति बेला मात्र लता नै आनन्दघन भएको कसैले बताएको थियो ।



लताको विषयमा लेखिका नसरिन मुन्नी कबिरले एक किताब लेखेकी छिन् । यो एक अन्तर्वार्ताको किताब हो । उनले किताबमा एउटा प्रसंग निकालेकी छिन् । लताले । उनले भनेकी छिन्, ‘सन् १९६२ मा एक महिना म बिरामी परेँ । मेरो पेटको एक्सरे गरिएको थियो र मलाई भनिएको थियो, मलाई मन्दविष दिइएको छ । त्यही दिन हाम्रो घरमा काम गर्ने एकजना व्यक्ति गए, उनले खाना पकाउने गर्थे । आफूले काम गरेको समयको पैसा पनि नलिइ उनी गएका थिए ।’

लताले त्यसपछि बल्ल आफूहरुलाई घरमा ती व्यक्तिलाई कसैले ल्याएको र उसले नै आफूलाई मन्दविष दिएको हुनसक्ने आशंका गरेको बताएकी छिन् । उनले तीन महिनामा आफू ठिक भएको बताएकी छिन् । 

त्यो तीन महिनामा आफूले निकै संघर्ष गर्नु परेको पनि पुस्तकमा लताले उल्लेख गरेकी छिन् । 

संघर्ष त उनले जीवनको सुरुवात देखि नै गरेकी थिइन् । उनी सानै छँदा उनका पिताको मृत्यु भएको थियो । त्यसपछि फिल्ममा सानातिना रोलमा लताले काम गर्न थालिन्, घर खर्च जुटाउन । लताले फिल्ममा काम गरे पनि आफू गायिका बन्ने हो भन्ने सपना चाहिँ त्यति बेला नै बनाएकी थिइन् ।

त्यसपछि उनलाई केही निर्देशकहरुले फिल्ममा गायनका लागि ब्रेक दिए । पहिलो पटक लताले फिल्म मजबुरमा गीत गाइन् । त्यसपछि कमाल अमरोहीको फिल्म महलमा गाइन् । त्यसपछि उनलाई फिल्महरुबाट गायनका लागि यति धेरै अफर आयो कि उनले अभिनय छोडिदिइन् ।

लताको गायन जीवनबारे अनेक किस्साहरु छन् । केही वर्षअघि मात्र उनले एउटा किस्सा सुनाएकी थिइन् । ‘४० को दशकमा जब मैले फिल्ममा गीत गाउन सुरु गरेकी थिएँ, घरबाट लोकल गाडीमा स्टुडियोसम्म जान्थेँ, बीच बाटोमा पैदल पनि हुन्थ्यो,’ लताले भनेकी छिन्, ‘बाटोमा किशोर दा पनि भेटिन्थे । तर, हामीबीच चिनजान थिएन । किशोर दाले कहिले मलाई हेर्थे, कहिले मुस्कुराउँथे ।’

एक दिन चाहिँ किशोर कुमारले लतालाई पछ्याउँदै उनी गीत रेकर्ड गर्न पुगेको स्टुडियोमा नै पुगेछन् । ‘मैले त्यहाँ खेमचन्दसँग यो केटाले मलाई पिछा गरेको छ, कहिलेकाहीँ त मलाई हेरेर हाँस्छ भनेँ,’ लताले एक अन्तर्वातामा भनेकी छिन्, ‘अनि पो बल्ल ती अशोक कुमारका भाइ किशोर कुमार रहेछन् भन्ने थाहा भयो । अनि मेरो किशोर दासँग भेटघाट भयो, हामीले फिल्ममा सँगै गाउन थाल्यौँ ।’

लताले आफ्नो जीवनबारे पनि नसरिन मुन्नीको किताबमा एउटा प्रसंग उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘मेरो पिताले मेरो जन्मपत्र (कुण्डली) पढ्नु भएको थियो र म अकल्पनीय रुपमा मशहुर हुन्छु भन्नु भएको थियो । उहाँले मैले पूरै परिवारको हेरचाह गर्छु तर विवाह गर्दिनँ भन्नु भएको थियो । यही त जीवन हो, जन्म, मृत्यु, तथा विवाहमाथि कसैको पनि कुनै जोर चल्दैन । यदि मैले विवाह गरेकी थिएँ भने मेरो जीवन अर्कै हुन्थ्यो होला । तर, म सधैं परिवारसँग रहेँ, कहिल्यै एक्लो महसुस गर्नु परेन ।’

लताका बाबु दीनानाथ मंगेशकर ज्योतिष चाहिँ थिएनन्, उनी पनि आफैं गीत गाउँथे । उनले एउटा ड्रामा कम्पनी पनि चलाएका थिए र छात्राहरुलाई संगीत सिकाउँथे ।

संगीत साधक तिनै बाबुकी छोरी लताको जन्म भएको थियो, २८ सेप्टेम्बर १९२९ मा ।

  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार ६:५३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया