आजदेखि हट्यो जोरबिजोर प्रणाली

काठमाडौं उपत्यकामा निजी सवारी साधन र ट्याक्सीमा लगाइएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । आइतबार कोभिड नियन्त्रणका लागि बनेको समिति सिसिएमसीले गरेको सिफारिसअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

‘सोमबारदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ बैठकपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनेकी छिन्, ‘जोरबिजोर हटे पनि तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’

जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘सिट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्न पाउने गरी सेनिटाइजर व्यवस्था गर्नुपर्ने,’ सूचनामा भनिएको छ, ‘चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारी साधनलाई निसंक्रमित गर्नुपर्ने, मास्क नलगाई आएको अवस्थामा पाँच रुपैयाँमा पाउने गरी मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश दिन पाइनेछैन ।’

लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने समेत सूचनामा उल्लेख छ । कोभिड संक्रमण बढेपछि माघ ७ बाट लगाइएको जोरबिजोर प्रणाली माघ १४ बाट खुकुलो बनाइएको थियो । तर ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार ७:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया