देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्त्वपूर्णः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इन्जिनियरसहित प्राविधिक जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । नेपाल प्रगतिशील इन्जिनियर एसाेसिएसनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले इन्जिनियर पेसालाई मर्यादित बनाएर यसको विश्वसनीयता बढाउनुपर्नेमा जोड दिए । सरकार इन्जिनियरको पेसागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्रीले भने, ‘तपाईंहरुको पेसागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ ।’ 

राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो शर्त हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सरकार प्रतिबद्ध छ । सरकारको यस अभियानमा इन्जिनियरको साथ सहयोग जरुरी छ ।’ 

वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । ‘सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘केही मानिसले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौँ ।’ 

प्रधानमन्त्रीलाई भेट्न एसाेसिएसनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पूरा गर्न आफू सकारात्मक भएको उनको सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १५:८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया