धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्राम निर्माणका लागि संघीय सरकारले जग्गा उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्रामलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ बिगाहा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम निर्माण अभियान (ड्रिम फाप्ला)का अभियन्ता सुभाष शाहीले रंगशाला निर्माणका लागि सरकारले साढे ३८ बिगाहा जग्गा उपलब्ध गराएको जानकारी दिएका हुन् ।
शाहीले फेसबुकमा पोस्ट गरेका छन्, ‘नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ‘फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्रामलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ बिघा जग्गा उपलब्ध गराएकोमा अत्यन्त हर्षानुभूति भएको छ ।’
यो मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान सुरु भएको करिब ८ वर्ष पूरा भइसकेको छ ।
फाप्लाका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट बजेट समेत विनियोजन हुँदै आइरहेकाे थियो ।
तर, जग्गा विवादको कारण रंगशाला निर्माणको काम अघि बढ्न सकेको थिएन । सरकारबाट जग्गा उपलब्ध हुने भएपछि रंगशाला निर्माण कार्यले तीव्रता पाउने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।