प्राविधिक शिक्षा ७५३ स्थानीय तहमै पुर्‍याउँछौँ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने बताएका छन् ।

कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पुर्‍याउने बताएका हुन् ।

'प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँग जोड्नुपर्छ,' मन्त्री पौडेलले भने, 'मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको छ ।'

मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रूपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने बताए ।

भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न आफू तयार रहेको उनले सुनाए ।  'अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ' उनले भने ।

मन्त्री पौडेलले ३ वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालयले योजना अघि बढाएको बताउँदै यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरि कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।



उनले विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै ४ देखि १२ वर्षका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्थापन हुने बताए ।

पढ्दै कमाउँदै कार्यक्रमले सिपलाई श्रमसँग जोड्ने बताउँदै ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई समावेश गर्ने उनको भनाइ छ ।



२०७६ साल असोज ७ गते आंगिक क्याम्पसको रूपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले ५ करोड छुट्याएको छ ।

निर्माणको ठेक्का पाएको रविना कन्स्ट्रक्सन प्रालिले ३ करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा ४ तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसाद शर्माले जानकारी दिए ।

माछापुच्छ्रे माध्यमिक विद्यालयले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी १४ रोपनी जग्गा ८० करोडमा खरिद गरी बुहप्राविधिक शिक्षालय निर्माणका लागि उपलब्ध गराएको संघीय सांसद दुर्गा विकले बताए ।

अहिले बहुप्राविधिक शिक्षालय घर भाडामा लिएर सञ्चालन भइरहेको छ ।

  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १५:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया