देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई आफूसरहकाे अधिकार दिएर गल्ती गर्नुभयाे : महेश बस्नेत

नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसीलाई लेखेको पत्र राज्य शक्तिको दुरुपयोग भएको बताएका छन् ।

काठमाडाैंमा आयाेजित एक कार्यक्रममा बाेल्दै सांसद बस्नेतले यस्ताे बताएका हुन् । 

प्रधानमन्त्री देशको शक्तिशाली व्यक्ति भएर पत्र लेख्ने कुरा स्वभाविक भएको, तर पार्टीको अध्यक्षले प्रधानमन्त्रीसँगै हस्ताक्षर गरेर पठाउँदा त्यसले राज्य शक्तिको दुरुपयोग भएको उनकाे भनाइ छ ।

उनले प्रधानमन्त्री देउवाले पनि एउटा पार्टीको अध्यक्षलाई आफू सरहको अधिकार दिएर गल्ती गरेको आरोप पनि लगाए ।

सांसद बस्नेतले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी परियोजनाको सन्दर्भमा जुन पत्र लेख्नुभयो, उहाँले लेख्ने कुरा त्यो स्वाभाविकै पनि होला । यद्यपि हामीले यसलाई सदनको विषय बनाउने भनिसकेपछि यो व्यवस्थापिका भित्रको कार्यक्षेत्रको विषय बन्यो । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिग्नेचर गर्ने कुरा पावर अफ स्टेटको दुरुपयोग हो । राज्यको शक्तिको दुरुपयोग हो । यो दुरुपयोग गर्ने अधिकार प्रचण्ड र माओवादी केन्द्रलाई कहाँबाट प्राप्त भयो ? यो गम्भीर प्रश्न हो । प्रधानमन्त्री शेरबहादुर देउवाजीले सत्ता जोगाउन, गठबन्धन बचाउन, एमालेलाई कमजोर बनाउनको निमित्ति अन्तर्राष्ट्रिय कुटनीतिक मर्यादामा गम्भीर प्रश्न आउने खालको जुन स्थिति सिर्जना गर्नुभयो र आफू सरहको अधिकार दिएर गल्ती गर्नुभयो ।’

सांसद बस्नेतले प्रचण्डले एमसिसीका बारेमा दोहोरो चरित्र देखाएको भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कुटनीतिक क्षमतामाथि प्रश्न उठेको पनि बताए ।



उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने बताउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रचण्डको दोहोरो चरित्रका बारेमा प्रधानमन्त्री पनि सचेत रहन आवश्यक रहेको औँल्याए ।



  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १५:४५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया