राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ३५६ र बझाङका २२८ विद्यालय सिफारिस

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीबाट ३५६ विद्यालय सिफारिस भएका छन् । जिल्लाका १० वटै स्थानीय तहबाट आवेदन परेका ३५६ विद्यालय सबैलाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए ।
 
पाटन नगरपालिकाका ५५, सिगास गाउँपालिकाका ५२, पुर्चौंडी नगरपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४०, सुर्नया गाउँपालिकाका ३८, दशरथचन्द नगरपालिकाका ३२, मेलौली नगरपालिकाका २४, पञ्चेश्वर गाउँपालिकाका २४, शिवनाथ गाउँपालिकाका २१ र डिलासैनी गाउँपालिकाका २० विद्यालय सिफारिस गरिएका हुन् । 

आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र पठाइएको प्रमुख अवस्थीले बताए । उनले भने, ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्र छनोट गरी शिक्षा मन्त्रालयले अन्तिम निर्णय गर्छ ।’ उक्त कार्यक्रम अन्तर्गत गत वर्ष यहाँका २०८ विद्यालय सिफारिस भएकामा १३० विद्यालय छनोटमा परेका थिए । 

यस्तै, सो कार्यक्रमका लागि बझाङका २२८ विद्यालय सिफारिस भएका छन् । १२ वटै स्थानीय तहबाट आवेदन परेका २२८ विद्यालयलाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी वसन्तबहादुर सिंहले बताए ।

तलकोट गाउँपालिकाका १८, खप्तडछान्नाका २२, छविसपाथिभेराका २७, मष्टाका २२, बुंगलका ४०, सुर्माका ११, थलारा गाउँपालिकाका २३, जयपृथ्वी नगरपालिकाका १२, दुर्गाथली गाउँपालिकाका ४, केदारस्युका ४१, वित्थडचिरका ५ र साइपाल गाउँपालिकाका ३ विद्यालय सिफारिस गरिएका हुन् । आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र पठाइएको सूचना अधिकारी सिंहले बताए । 

उक्त कार्यक्रममा सफल विद्यालयमा दुईकोठे–चारकोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । 

अहिले सिफारिस गरेर पठाएका विद्यालयहरूमा अधिकांशले विद्यालयको भवन निर्माण, शौचालय निर्माण, घेराबार, ल्याब स्थापनाको माग गरेका छन् । आगामी फागुन पहिलो हप्तासम्म विद्यालय छनोट भइसक्ने जनाइएको छ ।





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार २०:४५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया