ओली सरकारका ‘विज्ञ’ अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्ना ज्वाइँ डा. रामशरण खरेललाई चोरबाटोबाट धमाधम ‘माथि’ तानेको चर्चा अहिले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा व्याप्त छ । डा. खरेल अर्थमन्त्री खतिवडाका छोरी-ज्वाइँ हुन् ।
अर्थ मन्त्रालय प्रवेश गर्नासाथ आफ्नो विज्ञताभन्दा शक्ति प्रदर्शनमा लागेका खतिवडाले खरेललाई राष्ट्र बैंकको गभर्नर बनाउने योजनाका साथ विराटनगरबाट काठमाडौं तानेको र रोलक्रम मिचेर बढुवासमेत गराएको बताइएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार विगत ९ महिनामा खरेल राष्ट्र बैंकको विराटनगर शाखाबाट अर्थ मन्त्रालय तानिएका मात्र होइन, राष्ट्र बैंकको उपनिर्देशक पदबाट बढुवा भएर निर्देशक पनि भइसकेका छन् । अर्थ मन्त्रालयमा रहेर खासै उल्लेख्य काम गर्न नसकेका मन्त्री खतिवडाले नेपाली नोटमा ज्वाइँको हस्ताक्षर सुनिश्चित गर्न नै यो गति देखाएको स्रोत दाबी गर्छ ।
आफ्ना ज्वाइँलाई ‘माथि’ तान्न अर्थमन्त्री खतिवडाले छोटो समयमै चालेका कदमहरू रोचक मात्र छैनन्, नातावाद कृपावादको एक नमुनाको रूपमा समेत देख्न सकिन्छ । प्रस्तुत छ यो प्रकरणमा अर्थमन्त्री खतिवडाका स्टेपहरू:
स्टेप १
अर्थमन्त्री भएको पहिलो दिन नै खतिवडाले सल्लाहकारको रूपमा डा. खरेललाई अर्थ मन्त्रालयमा ल्याउन निर्देशन दिएका थिए ।
नेपाल राष्ट्र बैंक विराटनगर शाखामा उपनिर्देशक (अधिकृत द्वितीय) पदमा रहेका खरेललाई मन्त्रालय झिकाउने आदेशसहितको पत्र अर्थ मन्त्रालयले फागुन १५ गते राष्ट्र बैंकलाई पठाएको थियो । उक्त चिठीमा भनिएको छ, ‘विराटनगरमा कार्यरत डा. रामशरण खरेललाई आजकै मितिदेखि अर्थ मन्त्रालयमा कामकाज गर्ने गरी खटाइदिन आदेशानुसार अनुरोध छ ।’
त्यसपछि खरेल अर्थमन्त्रालय भित्रिए ।
स्टेप २
नेपाल राष्ट्र बैंकमा २०६४ असारदेखि आठवटा निर्देशक (अधिकृत प्रथम) पद खाली थियो । मूल्यांकन बढुवाद्वारा पदपूर्ति गरिने ती पदका लागि अधिकृत द्वितीय श्रेणीका कर्मचारीले आवेदन दिन पाउँथे । ती पदपूर्तिका लागि राष्ट्र बैंकले पुस २६ गते विज्ञापन प्रकाशन गर्यो ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली–२०६८ को तेस्रो संशोधनको विनियम ५३ मा कर्मचारीको बढुवासम्बन्धी उल्लेख गरिएको छ । उक्त विनियमअनुसार ज्येष्ठता, शैक्षिक योग्यता, कार्यसम्पादन मूल्यांकन र भौगोलिक अनुभवका आधारमा दिइने अंकका आधारमा बढुवा गरिन्छ । ज्येष्ठतालाई ७०, शैक्षिक योग्यतालाई २०, कार्यसम्पादन मूल्यांकनलाई १०० र भौगोलिक अनुभवलाई १० अंक गरी जम्मा २०० पूर्णांक हुन्छ ।
विज्ञापनअनुसार उक्त पदका लागि ५६ जना अधिकृतले आवेदन दिए । आवेदकमध्ये एक थिए उनै डा. खरेल । गत चैत ३० गते जनशक्ति व्यवस्थापन विभागले निकालेको सूचनाअनुसार ३२औं स्थानमा रहेका खरेल पहिलो आठभित्र परे र निर्देशकमा बढुवा भए ।
वरिष्ठताको क्रममा ३२औं स्थानमा रहेका खरेल कसरी बढुवामा परे त ? यस विषयमा राष्ट्र बैंकभरि खैलाबैला भयो । ‘१०–१२औं स्थानमा भएको भए ठिकै हो, आए होलान् भन्ने हुन्थ्यो,’ नाम नखुलाउने सर्तमा राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘३२औं स्थानमा भएको कर्मचारी बढुवामा पर्दा भने गडबडीको शंका हुनेरहेछ ।’
यो बढुवाले उनीभन्दा सिनियर रुष्ट भएको स्रोत बताउँछ । बढुवाका लागि नम्बर दिँदा भने उनको शैक्षिक योग्यता नै अन्य सिनियरलाई उछिनेर ३२औं स्थानबाट अन्तिम ८ मा पारिएको रिजल्ट सिटमा स्पष्ट देखिन्छ । यसका निम्ति उनको पिएचडीलाई आधार बनाइएको छ ।
बढुवाको आवेदन दिएकामध्ये डा. खरेल र डा. डिल्लीराम पोखरेल दुईजनाको मात्र शैक्षिक योग्यता पिएचडी छ । बढुवा भएका आठजनामा पहिलो ६ जना सिनियर १० भित्रकै छन् भने खरेल र पोखरेल अरूलाई उछिनेर माथि पुगेका छन् । अर्थमन्त्रीको सोझो हस्तक्षेपमा बढुवाको रोलक्रम मिचेर नतिजा प्रभावित गरिएको स्रोत बताउँछ ।
स्टेप ३
निर्देशक पदमा बढुवा भएलगत्तै डा. खरेल लगानी कोषको सञ्चालक समितिमा मनोनीत भए । अर्थमन्त्री खतिवडाले नियम मिचेर खरेललाई उक्त समितिमा मनोनीत गरेको खबर त्यतिबेलै सञ्चारमाध्याममा आएका थिए ।
उद्योग वाणिज्य र पुँजीबजारसम्बन्धी विषयमा विशेष ज्ञान तथा अनुभवलाई आधार बनाउँदै नेपाल सरकारले उनलाई उक्त समितिमा मनोनीत गरेको हो । उनलाई उक्त समितिमा पठाउन राष्ट्र बैंकले सिफारिस नगरेको स्रोतको दाबी छ । अर्को कुरा, सरकारले सोझै मनोनीत गर्न नेपाल सरकारको कर्मचारी हुनुपर्छ तर उनी अर्थ मन्त्रालय काजमा रहे पनि राष्ट्र बैंककै कर्मचारी हुन् ।
लगानी कोषको सञ्चालक समितिमा नौजना सदस्य रहने व्यवस्था छ । नेपाल सरकारले मनोनीत गरेको एकजना, नेपाल राष्ट्र बैंकबाट मनोनीत एकजना, धितोपत्र विनिमय बजार (हाल नेपाल स्टक एक्सचेन्ज लि.) बाट मनोनीत एकजना, वित्तीय संस्थामध्येबाट मनोनीत वा निर्वाचित एकजना, सर्वसाधारण सेयरवालामध्येबाट निर्वाचित एकजना, उद्योग वाणिज्य वा पँुजीबजारसम्बन्धी विषयमा विशेष ज्ञान तथा अनुभव भएका व्यक्ति वा लगानीकर्तामध्येबाट नेपाल सरकारले मनोनीत गरको तीनजना र कोषको कार्यकारी निर्देशक सञ्चालक समितिमा रहन्छन् ।
अर्थमन्त्री खतिवडाले आफ्नो शक्ति प्रयोग गरेर उनलाई उक्त समितिमा मनोनीत गराएको स्रोत बताउँछ । अधिकृत प्रथम तहको राष्ट्र बैंक निर्देशक पदमा रहेका खरेल सञ्चालकमा नियुक्ति भएपछि स्वतः अधिकृत विशिष्टसरहको हैसियतमा पुगेका छन् ।
स्टेप ४
फास्ट ट्र्याकमा लगानी बोर्डको सञ्चालक समितिसम्म ल्याइसकेपछि वैधानिक र मानसिक रूपमा ज्वाइँ खरेललाई तयार पार्न मन्त्री खतिवडाले मन्त्रालयमै एउटा अनौपचारिक व्यवस्था मिलाएका छन् ।
स्रोत भन्छ, अर्थमन्त्रीलाई भेट्नका लागि विशिष्ट तहका कर्मचारीदेखि विभिन्न विशिष्ट व्यक्तिहरूले पनि अहिले सल्लाहकार खरेलको अनौपचारिक च्यानल पार गर्नुपर्छ । अर्थ मन्त्रालयमा खरेलको हैसियत सल्लाहकारको भन्दा विशेष रहेको मन्त्रालय स्रोत बताउँछ ।
फाइनल स्टेप
नौ महिनामै खरेललाई शक्तिशाली स्थानसम्म पु¥याउनुको खास अभिप्राय के होला त ? स्रोत भन्छ, अर्थमन्त्री खतिवडा ज्वाइँ खरेललाई राष्ट्र बैंकको गभर्नर बनाउन चाहन्छन् ।
नेपाल राष्ट्र बैंक ऐन–२०५८ को तेस्रो संशोधनमा मन्त्रिपरिषद्द्वारा गठित सिफारिस समितिको सिफारिसमा गभर्नरको नियुक्ति गरिन्छ । उक्त समितिले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीनजनाको नामावली मन्त्रिपरिषद्मा सिफारिस गर्छ ।
गभर्नरका लागि खरेललाई सिफारिस गर्न उनको श्रेणी विशिष्ट र कुनै विषयमा विज्ञ हुनुपर्छ । राष्ट्र बैंकको निर्देशक भएर मात्र यो सर्त पूरा हुँदैन, त्यसैले उनलाई लगानी कोषको सञ्चालक बनाइएको स्रोतको दाबी छ ।
वर्तमान गभर्नर डा. चिरन्जीवी नेपालको कार्यकाल अब एक वर्ष चार महिना बाँकी छ । त्यसपछिको गभर्नरका रूपमा अर्थमन्त्री खतिवडाले ज्वाइँ खरेललाई सबै हिसाबले अनुकूल स्थानमा पुर्याइसकेका छन् । स्रोत भन्छ, ‘आगामी गभर्नरका रूपमा राष्ट्र बैंकमा डा. खरेल प्रवेश गरे भने आश्चर्य नमान्दा हुन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।