भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधानसभा निर्वाचनका लागि नेपाल भारत सीमानाका ६० घण्टा बन्द रहने भएको छ ।
चुनावलाई लक्षित गरी माघ २९ गते बेलुका ५ बजेदेखि फागुन ३ गते बिहान ७ बजेसम्म नेपाल-भारत सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
फागुन १ र २ गते पूर्ण रूपमा सीमानाका बन्द रहने उनको भनाइ छ ।
दार्चुलामा नेपाल-भारत जोड्ने लाली, जोलजिवी, दत्तु, खलंगा, तिग्रम र सीतापुल गरी छवटा सीमापुल सञ्चालनमा रहेका छन् । सीमापुल बाहेक लेकम क्षेत्रमा महाकाली नदीमाथि ट्युब र व्यास क्षेत्रमा तुइनको प्रयोग गरी नेपाल-भारत आवतजावत गर्ने गरिएको छ ।
सीमा पुलहरू दैनिक बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म गरी १२ घण्टासम्म नेपाल-भारत आवतजावतका लागि खुला गर्ने गरिएको छ भने रातिको समयमा अत्यावश्यक कामका लागि खोल्ने गरिएको छ ।
निर्वाचनको समयमा १२ फेब्रुअरी बेलुकादेखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनबाट अनौपचारिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
निर्वाचनको समयमा सीमा क्षेत्रमा शान्ति र सुरक्षा व्यवस्थापनका लागि सहयोग सम्बन्धी हालै सम्पन्न नेपाल-भारत सीमा बैठकमा छलफल समेत गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।