जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

जनकपुरधाम- आगामी पुस ७ र ८ गते जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन-२०७५ हुने भएको छ । उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा हुने सो सम्मेलनमा नेपाल-भारतका मैथिली सेवी, विद्वान्, साहित्यकारका साथै अन्य भाषाका अन्तर्राष्ट्रिय ख्यातिका साहित्यकार, संस्कृतिविद्को सहभागिता रहने जनाइएको छ । 

सम्मेलनका संयोजक रामभरोस कापड़ि भ्रमरका अनुसार सम्मेलनअन्तर्गत विचारगोष्ठीमा समसामयिक विषयमा एक दर्जनभन्दा अधिक कार्यपत्र प्रस्तुत गरिनुका साथै कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । 

सम्मेलनको पहिलो दिन जनकपुरधामको जानकी मन्दिरदेखि सभास्थलसम्म हुने प्रभातफेरीमा मैथिल परिधानले सज्जित सहभागीद्वारा मैथिलीको उत्थानमूलक नारा, ब्यानरसहित प्रदर्शन हुनेछ । मैथिली जागरण नामाकरण गरिएको प्रभातफेरी मिल्स एरिया, भानु चोक, शिवचोक, रामचोक हुँदै कार्यक्रम स्थलमा पुग्ने बताइएको छ । 

पहिलो दिनको कार्यक्रममा उद्घाटन, मिथिला रत्न सम्मान एवं पुरस्कार प्रदान, स्मारिका र महत्वपूर्ण पुस्तकको विमोचन, नेपाल–भारतका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम हुनेछ । 

त्यस्तै सम्मेलनको दोस्रो दिन कार्यपत्र प्रस्तुत, कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम र जनकपुरधाम घोषणापत्र जारी गरिने कार्यक्रम रहेको छ । यसका साथै सम्मेलन अवधिभर पुस्तक, हस्तकला, मिथिला लोकचित्रको प्रदर्शनीसमेत हुने जनाइएको छ । 





  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार १२:२३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया