अमेरिकाले एमसिसीका नाममा खसी देखाएर फर्सी भिडाउँदै छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् । बुधबार माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका आठ राजनीतिक संगठनले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनता एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए । उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप लगाए ।

अध्यक्ष केसीले विदेशी शक्तिले पार्टीका प्रमुख व्यक्तिलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताए ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताए । उनले गठबन्धन कांग्रेसबाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भनेपनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पारे ।

अध्यक्ष केसीले दुई वर्षयता मधेशमा सरकारले महँगो रकम हालेर ल्याएको रेल सञ्चालन नगरेर नेपाली जनताको बेइज्जत गरेको बताए । उनले सरकारको यस्तो कामले नेपाली जनताको अपमान भएकोसमेत बताए । उनले नेपाल अहिले विदेशीको लुटको अखडा भएको आरोपसमेत लगाए ।

अध्यक्ष केसीले नेपालमा राजनीति देश लुट्नका लागि गरेको आरोपसमेत लगाए । उनले नेपाल जस्तो कृषिप्रदान देशमा अहिले वार्षिक ५० अर्बभन्दा बढी खाद्यान्न आयात भइरहेको तर निर्यातका नाममा भने मानिसहरु मात्र पलायन भएको बताए । उनले नेपाली शासकले आफ्नो देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा छ कि छैन भनेर एमसीसीलाई सोध्नु लज्जास्पद भएको समेत बताए ।

अध्यक्ष केसीले अहिले सरकारमा भागवण्डाको काम मात्रै भइरहेको बताउँदै देश र जनताको रक्षा गर्ने जिम्मेवारी माफिया र तस्करहरूको हातमा सुम्पिएको बताए । उनले नेपालमा चुनाव माफिया र दलालीको मात्रै भएको आरोपसमेत लगाए । अमेरिकाले सहयोग गर्ने बहानामा नेपाली जनताबाट पैसा लुट्ने षड्यन्त्र बनाएको भन्दै अध्यक्ष केसीले भने, ‘कस्ता कस्ता मान्छे सरकारमा सामेल छन् हेर्नु त प्रदेशतिर । सात मन्त्रालयको ठाउँमा १२ भएको छ । मन्त्री मण्डलमा चोर होस् की, डाँका होस् की मूर्ति चोर होस् कि, अपराधी होस् केही फरक परेन । चुनाव त तस्करहरूको हो । चुनाव त मेडिकल भ्रष्टाचारीहरूको हो । चुनाव सहकारीका माफियाहरूको हो । एमसीसीभित्र अमेरिकाको नीति पालना गर्नुपर्छ हामीले । उसको नीति भनेको उदारीकरण, बजारीकरण, शिक्षा, नीति बजारलाई दिने, बोर्डिङ खोल्न लगाउने र जनतासँग लुट्ने । त्यहाँ अंग्रेजी सिक्छ नेपाली सिक्दैन ।’



अध्यक्ष केसीले देश अहिले गम्भीर शंकटोन्मुख रहेको भन्दै त्यसलाई जनताले सडकमा आएर जोगाउनु पर्ने बताए । उनले नेपाल पनि अहिले अफगानिस्तान र पाकिस्तानको स्तरमा गइसकेको बताए । उनले संसदमा रहेका सांसदलाई एमसीसी अस्वीकार गरेर देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकतालाई जोगाउनु पर्ने बेला आएको उल्लेख गरे । अध्यक्ष केसीले अमेरिकी साम्राज्यवादले जबरजस्ती एमसीसी बोकाएर नेपालमा आफ्नो रोटी सेक्ने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए ।



  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १८:३७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया