पार्टीले चाहे पुन: महानगरकाे प्रमुखमा उठ्छु : मेयर शाक्य
फाइल फाेटाे

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताएका छन् ।

बिहीवार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन् ।

मेयर शाक्यले भने, ‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । अर्को भनेको महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौं महानगरपालिकामा हामीले जित्ने गरी तयारी अवस्थामा छौँ ।’

आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरूको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने मेयर शाक्यकाे भनाइ छ ।

उनले भने, ‘विकास निर्माणका काम भनेको निरन्तर रूपमा चल्ने हो, कहिले पनि सकियो भन्ने हुँदैन । एउटा सकिन्छ, अर्को काम सुरु हुन्छ । यो निरन्तर रूपमा चलिरहन्छ । हामीले हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौँ । शिलान्यास धेरै भयो उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ, निश्चित समयमा बन्छ ।’

मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको पनि बताए । 



मेयर शाक्यले भने, ‘काठमाडौं महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सहर हो । जता हेर्दा पनि मन्दिर नै मन्दिर छन् । पार्टी पौवाहरू प्रशस्त छन् । त्यो बेला जसले बनाए पनि अहिले हाम्रो लागि सम्पदा बनेका छन् । सम्पदालाई संरक्षण गर्नु, प्रवर्द्धन र पर्यटनसँग जोड्नु महानगरको नीति नै रहेको छ । त्यहीअनुसार हामीले सुरुदेखि नै भनिरहेका छौँ । यहाँका जति पनि सम्पदा, मठ मन्दिर छन्, आफ्नो महत्व बोकेका छन् । हामीले सबै पुनर्निर्माण गरिदिन्छौँ भनेका थियौँ । त्यहीअनुसार पुनर्निर्माणलाई निरन्तरता दिइरहेका छौँ ।’

मेयर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रूपमा काठमाडौंको विकासका लागि महानगर लागि रहने प्रतिवद्धता समेत जनाए । 



  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १२:४०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया