सरकारविरुद्ध युवा संघकाे विराेध कार्यक्रम जारी

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पछिल्लो समय सरकारविरुद्ध देशैभर चर्को विरोधको कार्यक्रम जारी राखेको छ । देशैभर जिल्ला शाखाहरूले सरकारविरुद्ध सडक तताएका छन् ।

स्थानीय निर्वाचनको मितिसहित अन्य मागहरू राखेर सरकारको विरोध सुरु गरेको संघले निर्वाचनको मिति तय गरेपछि स्वागत गरेको थियो । तर, पनि आन्दोलन भने निरन्तर जारी राखेको छ । 

बिहीबार युवा संघका महिला प्रतिनिधिहरूले राजधानीमा प्रदर्शन गरेका छन् । सरकारको चर्को आलोचना गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडा, भौतिक योजना तथा यातायातमन्त्री रेणु यादव, सभामुख अग्नि सापकोटालगायतको राजीनामा माग गर्दै युवा संघका महिला प्रतिनिधिहरूले पहिलो पटक सडक तताएका हुन् ।

युवा संघसँग संलग्न महिला प्रतिनिधिहरूले विरोध लेखिएको कालो टि-सर्ट र कालो पट्टी बाँधेर आन्दोलन जारी राखेका छन् । नेपाली भूमि फिर्ता गर्न नसकेको भन्दै सरकारविरुद्ध नारा जुलुस गरेको संघले पेट्रोलियम पदार्थमा वृद्धि भएको मूल्यलाई फिर्ता लिन पनि माग गरेको छ । 

पुरुषहरू मात्रै राष्ट्रिय राजनीतिमा अगाडि देखिएको भन्दै देशमा समस्या आउँदा र सरकार जनताको जनभावना विपरीत गएर लापरवाही गर्दा महिलाहरू पनि सडकमा आएर आन्दोलन गर्न सक्ने भन्दै सन्देश दिन युवा संघका महिला विभागले विरोधको कार्यक्रम आयोजना गरेको राष्ट्रिय युवा संघ नेपालका प्रचार प्रसार संयोजक महाराज गुरुङले बताए ।

बिहीबार नै युवा संघले देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेको छ । काभ्रेमा सभामुख अग्नि सापकोटालाई कालो झण्डा देखाउँदा युवा संघका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडपको स्थिति समेत बनेको थियो । 



त्यसलगत्तै काभ्रेमा प्रहरी, सशस्त्र र सेना परिचालन गरेको छ । 



  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १७:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया