त्यो दुर्घटनाः
जब ऐना हेर्छु, हरेकपटक मलाई त्यो घटनाको याद आउँछ

कुरा आजभन्दा करिब ८ वर्षअघिको हो । बेलुकाको ४ बजेको थियो । म आफ्नो म्युजिक भिडियोको सुटिङ सकेर घर गइरहेकी थिएँ । स्कुटरमा एक्लै जब चाबहिल पुगेको थिएँ । आफ्नै गतिमा स्कुटर गुडाइरहेको अवस्थामा एक्कासि म स्कुटरबाट पछारिएँ । एकछिन त के भएर लडेँ भन्ने पनि होस भएन । 

लडिसकेपछि म केही बेर त उठ्नै सकिनँ । मलाई विपरीत दिशाबाट आइरहेको बाइकले ठक्कर दिएको थियो । म के गर्ने के नगर्ने भएँ केहीबेर होस नै हरायो । मलाई सामान्य चोटबाहेक खासै केही भएजस्तो लागेको थिएन । 

तर, जब यसो स्कुटरको साइडग्लासमा आफ्नो अनुहार हेरेँ, अनुहारबाट रगत बगिरहेको देखेँ । त्यसपछि भने झसंग भएँ । त्यतिबेला मेरो दिमागमा एउटा कुरा मात्र खेलिरहेको थियो, त्यो हो मेरो करिअर । एउटा कलाकारका लगि उसको अनुहार धेरै महत्वपूर्ण कुरा हो । मलाई लागिरहेको थियो कि मेरो करिअर अब सकियो । आफ्नो करिअर सम्झेर मलाई निकै डर लागिरहेको थियो । 

केही बेरपछि शरीरका अन्य अंग पनि दुखिरहेको अनुभव हुन थाल्यो । यतिवेला भने मलाई लाग्यो, चोट मेरो अनुहारमा मात्रै लागेको रहेनछ, चोट त शरीरका अन्य अंगमा पनि लागेको रहेछ ।

तर, मलाई शरीर दुखाइले भन्दा पनि करिअर सकियो भन्ने कुराले धेरै चिन्तित बनाइरहेको थियो । अब चाँडोभन्दा चाँडो अस्पताल पुग्नुपर्छ भन्ने कुरा दिमागमा आयो । आफैँ हिम्मत जुटाएर अस्पतालसम्म कसरी पुग्ने भनेर सोचेँ । सोच्न त सोचेँ तर जब उठेर अघि बढ्न प्रयास गरेको मात्र के थिएँ, हिँड्नै नसक्ने पो भएको रहेछु । 

तर, जसरी पनि अस्पतालसम्म पुग्नु थियो । त्यसकारण बल गरेर एक खुट्टाले टेक्दै भए पनि अस्पतालसम्म पुग्न शक्ति लगाएँ । तर साह्रै गाह्रो भयो । त्यतिवेलासम्म वरिपरि मान्छे पनि जम्मा भइसकेका थिए । तर, कसैले मलाई अस्पताल लैजान सुरसार गरिसक्नुभन्दा पहिले नै मैले आफैँ ट्याक्सी रोकेँ र आफ्नो स्कुटर त्यहीँ छाडेर अस्पतालका लागि हिडेँ । ट्याक्सीको ऐनामा आफ्नो अनुहार हेरेँ । अनुहार सुन्निएको थियो । त्यसपछि त झन् डरको सीमा नै रहेन । यति डर लागिरहेको थियो कि म केही सोच्नै सकिरहेको थिइनँ । 



अस्पताल नपुग्दासम्म बाटोमा मलाई यही कुराले पिरोलिरह्यो कि अनुहारको चोटका कारण मेरो करिअरमा अब पूर्णविराम लाग्ने भयो । शरीर धेरै नै दुख्न थालिसकेको थियो । चाबहिलको मेडिकेयर क्लिनिकमा पुगेँ । तत्कालै आफ्नो परिवारलाई सम्पर्क गरेँ र उपचारका लागि भर्ना भएँ । 

अनुहारमा धेरै चोट लागेको रहेनछ । कम्तीमा पनि कुरूप नै हुने गरी, वा भनौँ करिअर नै समाप्त हुनेगरी । केही समयपछि उठेर आफ्नो अनुहार हेरेँ । तर, अनुहारभरि पट्टी नै पट्टीले ढाकिएको पाएँ । अनुहार र शरीरका थुपै्र भागमा पट्टी लगाएको देखेँ । अनि पो मलाई त धेरै नै चोट लागेको रहेछ भनेर चिन्ता लाग्न थाल्यो । 



त्यतिवेलासम्म मेरा आफन्त सबै त्यहाँ आइपुगिसक्नुभएको थियो । सबै मलाई देखेर आत्तिएको पाएँ ।उहाँहरू निरास भएको देख्दा मलाई झन् गाह्रो अनुभव भयो । मैले धेरैलाई दुःख दिएँ भन्ने लागेको थियो । अस्पतालमा ६ दिन बस्नुपर्यो । अस्पतालमा ६ दिन मात्र बस्नु परे पनि घरमा नौ महिना मैले बेडरेस्ट गर्नुपरेको थियो । 
त्यसअघि मैले राम्रा–राम्रा सिनेमा साइन गरेको थिएँ । दुर्घटनाका कारण मैले सबै छाड्नुपर्ने भयो । दुर्घटनाले भन्दा पनि आपूmले साइन गरेका सिनेमा छाड्नुपर्यो भनेर धेरै पिर परेको थियो । मलाई त्यो घटनाले साह्रै नै स्ट्रेस भएको थियो ।
  
मलाई त्यो समय धेरै नै गाह्रो भएको थियो । फिल्ममा सानैदेखि आएको भए पनि मेरो करिअर भने भर्खर–भर्खर सुरु भएको थियो । त्यो घटनाले मेरो एक वर्ष लस भयो । त्यो मेरो लागि एकदमै महत्वपूर्ण र प्रोडक्टिभ हुने थियो । 

तर, सौभाग्य भनौँ, मेरो करिअरलाई नै बाधा पुग्ने त्यस्तो भने भएन । बेड रेस्टपछि फेरि सिनेमा आउन सकेँ र त्यत्तिकै राम्रो गर्न सकेँ । त्यो घटनालाई म कहिले पनि बिर्सिन सक्दिनँ । 

म हरेकपटक जब ऐना हेर्छु, मलाई त्यो घटनाको याद आउँछ । म चाहेर पनि त्यो दिन बिर्सिन सक्दिनँ । त्यो घटना बिर्सिन नसक्नुको एउटा प्रमुख कारण मेरो गालामा भएको सानो खत हो । जब ऐना हेर्छु, त्यो खत देखिन्छ । 

त्यस घटनाले मलाई जीवनभरलाई पुग्ने एउटा अर्काे कुरा पनि दिएको छ । त्यसदिनदेखि मैले अहिलेसम्म स्कुटर चलाएको छैन । त्यतिबेला आफ्नो कुनै गल्ती नै नभए पनि अहिले मलाई स्कुटर चलाउन भने साह्रै डर लाग्छ । ममा स्कुटर या बाइक चलाउने साहस नै छैन । 

त्यो दुर्घटना सम्झिँदा अहिले पनि आङ जिरिंङ हुन्छ ।

 

  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार १७:२५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया