हिजाब विवादमा फुटबलर पल पाेग्बा के भन्छन् ?

हिजाब विवाद उच्च अदालतमा सुनुवाइकाे बीचमा अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । म्यानचेस्टर युनाइटेडका फ्रेन्च फुटबलर पल पोग्बाले पनि यस विषयमा आफ्नाे राय व्यक्त गरेका छन् ।

पलले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘हिन्दुत्वको भीडले कलेजमा हिजाब लगाएकी मुस्लिम केटीलाई निशाना बनाएको छ ।’ 

पलको  भिडियोमा एकातिर हिजाब लगाएका केटीहरू छन् भने अर्कोतिर केसर लगाएका केटाहरूको भीड नारा लगाएको देखिन्छ ।

अर्को भिडियोमा पलले जातिय दुर्व्यवहारमाथि प्रश्न उठाएका छन् । 

पाेग्बा यस्ता खालका विषयमा बाेलिरहन्छन् । यसअघि सन् २०२० मा कार्टुन विवाद र फ्रान्सेली राष्ट्रपतिको वक्तव्यपछि उनी चर्चामा आएका थिए । 

पोग्बाले सन् २०२० को अक्टोबरमा फ्रान्सेली राष्ट्रिय टोली छोड्ने घोषणा गरेका थिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको ‘इस्लामी आतंकवाद’ को बयान पछि पलले यो घोषणा गरेका हुन्।



फुटबलर पल पोग्बा मुस्लिम समुदायबाट आएका हुन् । उनी विश्वकप जित्ने टोलीको सदस्य समेत हुन् । ‍सन् २०१३ मा आफ्नो करियर सुरु गरेका पाेग्बाले फ्रान्सलाई २०१८ को विश्वकपमा जिताउन उल्लेखनीय भूमिका खेले । उनले क्रोएसियाविरुद्धको फाइनलमा पनि गोल गरेका थिए ।

उनी प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली राष्ट्रिय टोलीबाट खेल्छन् । उनी मुख्यतया सेन्टर मिडफिल्डरको रूपमा खेल्छन् । 



हालै, कर्नाटक सरकारले राज्यमा कर्नाटक शिक्षा ऐन, १९८३ को धारा १३३ लागू गरेको छ । यसअन्तर्गत अब सबै सरकारी तथा निजी विद्यालय तथा कलेजमा विद्यार्थीले अनिवार्य रूपमा पोसाक लगाउनु पर्नेछ । निजी विद्यालयहरूले पनि आफ्नै पोशाक छनोट गर्न सक्छन् । यो निर्णयलाई लिएर जनवरीमा नै विवाद सुरु भएको थियो ।

विवाद उडुपीको एक सरकारी कलेजबाट सुरु भएको थियो, जहाँ कलेज प्रशासनको इन्कारका बाबजुद छ जना छात्रा हिजाब लगाएर कलेज पुगेका थिए । उक्त विवादपछि अन्य कलेजमा पनि हिजाबलाई लिएर हंगामा सुरु भएको थियो ।

धार्मिक पोशाक हिजाबमा प्रतिबन्ध लगाउने आदेशपछि कर्नाटकका विद्यालय र कलेजहरूमा हंगामा मच्चिएको छ । यो विवाद कर्नाटक र यसका स्कूल र कलेज हुँदै देशको बाँकी भागमा पुगेको छ । अहिले विभिन्न दलका नेताहरू पनि यस विषयमा आमनेसामने भएका छन् । अहिले यो विषय अन्तर्राष्ट्रिय स्तरमा पनि पुगिसकेकाे छ ।

  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १३:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया