नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै एउटा परियोजनाको निम्ति गठबन्धन नबनेको बताएका छन् । अमेरिकी अनुदान सहायता (एमसिसी) को विषयलाई संकेत गर्दै उनले यस्तो बताएका हुन् ।
‘कुनै एउटा खास परियोजनाको निम्ति गठबन्धन बनेको होइन । जुन मूल्य र मान्यतामा टेकेर यो गठबन्धन बनाएका हौं, त्यसमा दृढ रहौं,’ २७ औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने ।
अहिले गठबन्धनमा एमसिसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने विवाद छ । यही बीचमा प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको बताउँदै त्यसमा दृढ रहन अपिल पनि गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अझै पनि देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरू सक्रिय नै रहेका पनि बताए । ‘पराजित प्रतिक्रान्तिकारी प्रवृत्ति चुप लागेर बसेको छैन । त्यसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइराखेको छ र त्यसलाई मलजल गर्न देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरु सक्रिय नै छन्,’ उनले भने ।
उनले सरकार ढलाउनका निम्ती विभिन्न प्रपन्चहरू भइरहेको पनि उल्लेख गरे । ‘अहिले कुनै तरिकाले प्रतिगमन विरोधी आन्दोलनका कारण त्यो प्रतिक्रियाबाट पैदा भएको यो गठबन्धनलाई टुटाउनको निम्ति, यो सरकार गिराउनको निम्ति, चुनावलाई बिथोल्नको निम्ति अनेक खालका प्रपन्चहरू भइराखेका छन् । तपाईं हामीले देखिराखेका छौं,’ प्रचण्डले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।