माधव नेपालसहित १४ सांसदको पेसी चढेकै दिन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग !

नेकपा एमाले छाडेर नयाँ दल दर्ता गराएका माधव नेपालसहित १४ जना सांसदविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको यो मुद्दा यसअघि पटक पटक पेसी चढेर पनि हेर्न नभ्याइनेमा परेको थियो । 

उता, आजै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको छ । यद्यपी चोलेन्द्रको इजलासमा भने यो मुद्दाको पेसी चढेको होइन । साधारण सदस्य र सांसद सदस्यबाट समेत निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै एमालेले मुद्दा दायर गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका दुई सांसदको निष्कासनको कारबाही अघि नबढाएकोमा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाएका छन् । एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएका विमला वली र अजय शाहीलाई निष्कासन गरिएको सूचना सभामुखले प्रकाशन नगरेकोमा एमाले अदालत गएको हो ।

एमालेले २५ साउनको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १३:५१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया