नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले एमसिसी राष्ट्रको हितविपरित भएको बताएकी छन् । आइतबार बझाङमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहले देशमा अमेरिकी समाज्यवाद जबर्जस्ती लाद्न खोजेको भन्दै त्यसले देश दुर्घटनातर्फ धकेलिने बताइन् ।
हाम्रो देशको स्वाभिमान, स्वतन्त्रता र अखण्डतालाई बाह्य शक्तिराष्ट्रहरुले युद्धको कृडास्थल बनाउन खोजेको भन्दै उनले देशको हितभन्दा ठूलो सरकार र गठबन्धन नहुने बताइन् । ‘हामी देशको स्वाधिनताको लडाइँको क्रममा छौँ । देशमा अराजकता चाहने शक्तिहरु हावी हुन खोज्दै छन् । सबै सचेत नागरिकहरुले नै जनस्तरबाट एमसिसीको विरोध गर्नुपर्छ,’ शाहले भनिन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्ववनमन्त्री भानुभक्त जोशीले पनि एमसिसी यथास्थितिमा देशको हितविपरीत रहेको बताएका छन् । एमसिसी सम्झौतामा रहेका केही बुँदा राष्ट्रको हितविपरीत रहेको भन्दै उनले विनासंशोधन पास गर्नु घातक रहेको बताए ।
उनले भने, ‘गठबन्धन भत्कियोस वा जोगियोस् त्यो महत्वपूर्ण कुरा होइन, महत्वपूर्ण कुरा त एमसिसी राष्ट्रघाती रहेको छ भन्ने हो । हामी एमसिसी पारित नगर्ने पक्षमा छौँ । तर केही राष्ट्रविरोधी गतिविधि गर्नेहरुको होडबाजी नै एमसिसी पारित गर्ने भन्नेमा छ ।’
यसैबीच आइतबार नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग (एमसिसी) सम्झौताविरुद्ध चैनपुर बजारमा विरोध प्रदर्शन गरेको छ । एमसिसी संसदबाट पास गराउन नहुने भन्दै नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले विरोध प्रर्दशन गरेका थिए ।
प्रदर्शनका क्रममा भ्रातृसंगठनका नेताहरूले संसदबाट एमसिसी पास भएमा अझै सशक्त रूपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले एमसिसी यथास्थितिमा स्वीकार्य नहुने बताउँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।