स्वदेशी जुत्ता–चप्पलप्रति उपभोक्ताको विश्वास बढ्दै जाँदा नेपालमा जुत्ता–चप्पल उद्योग खुल्ने क्रम बढिरहेको छ । नेपालमा स्वदेशी जुत्ता–चप्पलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बर्सेनि जुत्ता–चप्पल औद्योगिक प्रदर्शनी हुने गर्छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अनुसार नेपाल सरकारको दायरामा रही दर्ता भएका एक हजारभन्दा केही बढी मात्रै जुत्ता–चप्पल उद्योग छन् । नेपाल यस क्षेत्रमा अझै पनि आत्मनिर्भर हुन भने सकेको छैन । खुला अर्थबजारका कारण बाह्य मुलुकबाट अर्बौं रुपैयाँबराबरका जुत्ता–चप्पल आयात भइरहेका छन् । नेपालमा बर्सेनि ३ करोड जोर जुत्ता–चप्पलको माग भइरहँदा नेपाली उद्योगको ६० देखि ६५ प्रतिशत मात्र योगदान छ । बाँकी ४५ प्रतिशत योगदान बाह्य मुलुकको छ ।
उपभोक्ताको मागअनुसार स्वदेशी उत्पादनमा बढी जोड दिने हो भने विदेशी ब्रान्डका जुत्ता–चप्पललाई बिस्तारै प्रतिस्थापन गर्न सकिन्छ । तर, नेपालको उद्योग व्यवसायमा समस्या नै समस्याले जरा गाडेको महासंघका अध्यक्ष नरेश कटवाल दाबी गर्छन् । नेपालमा जुत्ता–चप्पल उद्योगका लागि कच्चा पदार्थको अभाव छ । जुन छिमेकी मुलुक भारत, चीनलगायत देशबाट भित्र्याउनुपर्छ ।
एकातर्फ सरकार नेपाल औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण बन्दै गएको दाबी गर्छ । तर, नेपालमा उद्योगमैत्री वातावरण अझै पनि बन्न नसकेको अध्यक्ष कटवाल बताउँछन् ।
महासंघका अनुसार नेपालमा जुत्ता–चप्पल उद्योग खुल्ने क्रम बढिरहँदा पनि एक हजारभन्दा बढी उद्योग दर्ताविनै सञ्चालनमा छन् । उनीहरू निर्वाध रूपमा जुत्ता–चप्पल बिक्री–वितरणमा लागेका छन् ।
बर्सेनि लाखौँ नेपाली युवा रोजगारीका लागि खाडी मुलुक पलायन हुन्छन् । उनी थप्छन्, ‘शिक्षित युवा अस्ट्रेलिया, अमेरिकादेखि युरोप गइरहँदा सरकारले उनीहरूलाई रोक्ने वातावरण बनाउनुको साटो उल्टै त्यसप्रति प्रोत्साहन गर्दै आइरहेको छ ।’
पञ्चायतकालयता देशमा विभिन्न राजनीतिक परिवर्तन भएको देखिन्छ । तर, व्यावसायिक क्षेत्रमा केही परिवर्तन नभएको महासंघका अध्यक्ष कटवालको तर्क छ । पञ्चायतकालमा गठन भएका संघ–संस्था अहिले पनि विद्यमान छन् । पञ्चायतकालका विभिन्न भौतिक संरचना भत्काउन सक्ने सरकारले औद्योगिक क्षेत्रमा हुने आर्थिक चलखेलको सिन्डीकेटलाई अन्त्य गर्न नसक्नु नै औद्योगिक क्षेत्रको मुख्य समस्या भएको उनले बताए ।
उनी भन्छन्, ‘निजी क्षेत्रका लागि खुलेर औद्योगिक क्षेत्रमा काम गर्ने वातावरण बनेकै छैन । त्यसैकारण पनि उपभोक्ताको मागलाई परिपूर्ति गर्ने गरी स्वदेशी उद्योगले उत्पादन बढाउन नसकेका हुन् ।’
नेपालको जुत्ता–चप्पल उद्योगमा लगानी कम छ । उनले भने, ‘नेपालको औद्योगिक क्षेत्रमा कच्चा पदार्थदेखि जनशक्तिसमेत अधिकांश भारत र चीनका छन् । सरकार भने नेपाली जनशक्तिलाई बाह्य मुलुकका लागि प्रोत्साहन गर्छ ।’
नेपालमा उद्योगमैत्री वातावरण बनाउन माग गर्दै महासंघले अहिलेसम्म हालसम्म १० जना उद्योगमन्त्रीलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष कटवाल सम्झन्छन् । ‘स्थायी सरकार आउनुभन्दा अघि नेपालमा हरेक ३–३ तथा ६–६ महिनामा सरकार परिवर्तन भइरहे । हामीले व्यवसायीका समस्या सम्बोधनका निम्ति पटक–पटक ज्ञापन पत्र बुझाउँदा पनि सरकार मौन बन्यो,’ उनले थपे ।
ज्ञापनपत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सरकारले सीप तथा तालिम केन्द्रको स्थापना गर्नुपर्ने, कच्चा पदार्थ भण्डारण तथा उत्पादन गर्न नसक्ने अवस्थामा विदेशबाट आयात गरिँदा भन्सार शुन्य हुनुपर्ने, स्वदेशमै कच्चा पदार्थको खोज तथा अनुसन्धान हुनुपर्नेलगायत माग महासंघको छ । साथै, नेपालमै छाला प्रशोधन केन्द्रको स्थापना भए रोजगारी सिर्जना हुने, सीप हुनेका लागि व्यवसायका लागि ऋण उपलब्ध हुनुपर्नेलगायत माग थिए, जो अहिलेसम्म पनि ज्युँका त्युँ छन् ।
नेपाल जुत्ता–चप्पल उद्योग व्यवसायी संघका अध्यक्षसमेत रहेका कटवाल भन्छन्, ‘हाम्रो माग भनेको नेपाली जुत्ता तथा चप्पल उद्योगका लागि छुट्टै करिडोरको घोषणा हुनुपर्छ भन्ने हो । यो सरकारको दायित्व पनि हो ।’
महासंघअन्तर्गत नेपाल व्यापार संघ, राष्ट्रिय व्यापार संघ, नेपाल जुत्ता–चप्पल उद्योग व्यवसायी संघ, खिचापोखरी न्युरोड व्यापार संघसहित १८ संस्थापक सदस्य छन् । तर, सरकारले निजी क्षेत्र भन्दै जसको उद्योग, व्यवसाय छैन तर पञ्चायतकालदेखि नै हालीमुहाली गरिरहेका छन् उनीहरूको मात्रै कुरा सुन्ने गरेको महासंघको आरोप छ । तर, समस्यामा परेका निजी व्यवसायीका समस्या सम्बोधन नभएको उनको गुनासो छ ।
सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा प्रचार गर्छ । कट्वाल भन्छन्, ‘जो व्यवसायीले १२ घन्टा व्यवसायमा लागेर २० वर्षदेखि सरकारलाई कर तिरिरहेका छन् भने उनीहरूको सुरक्षाको ग्यारेन्टी राज्यले दिनुपर्छ ।’
गत मंसिर ११ मा सामाजिक सुरक्षासहितको नयाँँ युगको प्रारम्भ भएको घोषणा भयो । तर, सरकारको उक्त घोषणा कार्यान्वयन हुन्छ भन्नेमा नै आशंका छ ।
नेपालमा बर्सेनि जुत्ता तथा चप्पल आयात मात्र नभई बाह्य मुलुकमा निर्यात पनि हुने गर्दछ । महासंघले भने पहिले स्वदेशी उत्पादनले देशलाई आत्मनिर्भर गराउने कुरामा जोड दिइरहेको छ । जुत्ता–चप्पल मात्र होइन, नेपालीलाई चाहिने हरेक अत्यावश्यक वस्तुमा आत्मनिर्भर हुनुपर्ने अध्यक्ष कटवालको जिकिर छ ।
नेपाल हरेक सीप तथा कलामा निपुण हुनुपर्छ । अनि मात्र देशको विकास हुन्छ । तर सीप सिकेका दक्ष जनशक्तिले बैंक तथा सहकारीमार्फत चर्को ब्याजदरमा ऋण लिनुपर्ने अवस्था हुँदा नयाँ उद्यमी समस्यामा पर्दै आएका छन् । उनी भन्छन्, ‘काठमाडौंमा त झन् अकासिएको सटरको भाडाबाट नयाँ व्यवसायी झन् समस्यामा पर्न थालेका छन् । यसप्रति सरकारको गम्भीर छैन ।’
‘नेपाली जुत्ता–चप्पल प्रयोग गरौँ, स्वदशी उत्पादनमा गर्व गरौँ’ भन्ने मूल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा दोस्रो जुत्ता तथा चप्पल औद्योगिक प्रदर्शनी जारी छ । गत मंसिर ७ गतेबाट सुरु भएको प्रदर्शनीमा केटिएम, भेनस, पारागन, हाइलाइफलगायत दर्जनभन्दा बढी कम्पनीका एक हजारभन्दा बढी डिजाइनका जुत्ता तथा चप्पल प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीमा अवलोकन गर्नेदेखि जुत्ता तथा चप्पल खरिद गर्नेको पनि भिड बढिरहेको देखिन्छ । प्रदर्शनीले स्वदेशी उत्पादनका जुत्ता–चप्पल उपभोक्तामाझ पुर्याउन मद्दत पुगेको भेनस सुजका सञ्चालक जीवन श्रेष्ठले बताए । नेपाली जुत्ता–चप्पल उद्योगमा दक्ष जनशक्ति कम भएको अाैँल्याउँंदै श्रेष्ठले भने, ‘नेपाल सरकारले यससम्बन्धी सीप तथा तालिमको व्यवस्था गर्न सके नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ ।’
प्रदर्शनीमा आएका भक्तपरका श्याम सुन्दर सिल्पकरले फुटस्टेपको एक जोर जुत्ता खरिद गर्दै भने, ‘नेपाली जुत्ताको क्वालिटी मन पर्ने भएर नै पहिलेदेखि नै लगाउँदै आएको छु ।’ यस्तै, कपिलवस्तु घर भएकी शिला श्रेष्ठले काठमाडौं घुम्न आएको मौकामै प्रदर्शनीमा सुष्ठु फेसन कम्पनीको एक जोर जुत्ता र चप्पल खरिद गर्दै यसको क्वालिटीमा आफूलाई विश्वास लाग्ने गरेको सुनाइन् ।
यता, बानियाँटारबाट आएका कटक शाहीले भेनस कम्पनीको स्पोर्टस् जुत्ता खरिद गर्दै भने, ‘स्वदेशी ब्रान्डका जुत्ता सस्तो र गुणस्तरीय हुने भएपछि प्रदर्शनीबाट नै खरिद गरेको हुँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।