नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले जनतालाई न्याय दिन सत्तारूढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याएको दावी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्ताे दावी गरेका हुन् ।
उनले यो प्रस्तावसँगै अब सर्वोच्च अदालतमा विद्यमान गतिरोध हट्ने र नेपाली जनताले न्याय पाउने विश्वास समेत व्यक्त गरे ।
वरिष्ठ नेता पौडेलले संवैधानिक बाटोबाटै आफू हट्ने प्रधानन्यायाधीश जबराको आकांक्षालाई पनि सत्तारूढ दलहरूले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावले सघाउ पुर्याएकाे बताए ।
उनले भने, ‘अहिले ढिलै भए पनि संसदका नेताहरूले अहिलेसम्म आँट गर्न सकेका थिएनन् । मलाई लाग्छ-प्रधानन्यायाधीशले पनि म त छोड्दिनँ, म त बसेँ बसेँ, कि मलाई संवैधानिक प्रक्रियाबाट हटाऊ । म हट्ने हो भनेदेखि त महाअभियोग लगाऊ अथवा के गर भन्ने खालको उहाँको सधैंको सन्देश त्यही पनि थियो । अब उहाँकै आकांक्षालाई पूरा गर्नका लागि यो प्रस्ताव आएको जस्तो लाग्छ मलाई । यसबाट सर्वोच्च अदालतको गतिरोध हट्नुपर्छ । र, यो गतिरोध हटाएर सर्वोच्च अदालतले जनतालाई न्याय दिने अदालत यसरी ठप्प भएर बस्दा नेपाली जनताको न्याय हराएको थियो । अब त्यो न्याय जनताले पाउँछन् भन्ने मैले विश्वास लिएको छु ।’
वरिष्ठ नेता पौडेलले आफूले प्रधानन्यायाधीश जबरालाई सम्मानजनक बर्हिगमनका लागि राजीनामा दिन पटकपटक सुझाएको पनि स्मरण गराए ।
यसैगरी उनले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्षी दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी पनि गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।