आइपिएल मेगा अक्सनमा सर्वाधिक मूल्यमा बिक्री हुने खेलाडी

१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)का लागि मेगा अक्सन सकिएको छ ।

शनिबार र आइतबार बैंग्लोरमा सम्पन्न अक्सनमा केही विश्वचर्चित खेलाडीमाथि कुनै टोलीले चासो नदेखाउँदा केही खेलाडीका लागि भने पैसाको वर्षा भयो ।

आइपिएल २०२२ को मेगा अक्सनमा सर्वाधिक महँगा १० खेलाडीको बारेमा हामीले यहाँ छाेटकरीमा बताउने छाैँ ।

१०.लोकी फर्गुनसन, १० करोड भारु (गुजरात)

न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनलाई गुजरात टाइटन्सले १० करोड मूल्यमा भित्रायाे। यसअघि कोलकताबाट आइपिएल खेलेका उनले १ करोड ६० लाख पाएका थिए ।

यो सिजन उनलाई किन्न दिल्ली, गुजरात र बैंग्लोरबीच प्रतिस्पर्धा भएको थियो । न्यूनतम मूल्य २ करोड रहेका फर्गुसनले न्युजिल्यान्ड र आइपिएलमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।



लोकीले आइपिएलमा २२ खेल खेल्दा २४ विकेट हात पारेका छन् । १५ रन दिएर ३ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । 

९.प्रसिद्ध कृष्णा, १० करोड भारु (राजस्थान)



भारतीय तीव्र गतिका बलर प्रसिद्ध कृष्णालाई राजस्थान रोयल्सले १० करोड मूल्य खर्चिएको छ । न्यूनतम १ करोड मूल्य राखेका उनलाई किन्न लखनउ सुपर जायन्ट र राजस्थानबीच प्रतिस्पर्धा भएको थियो ।

यसअघि कोलकतामा उनले न्यूनतम २० लाख मात्र पाएका थिए । आइपिएलमा ३४ खेल खेलेका कृष्णाले ३० विकेट हात पारेका छन् । ३० रन दिएर ४ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । 

८.शार्दुल ठाकुर, १० करोड ७५ लाख भारु (दिल्ली) 

भारतीय तीव्र गतिका बलर शार्दुल ठाकुर महँगो मूल्यका साथ दिल्ली क्यापिटल्समा अनुबन्ध भएका छन् । पछिल्लो समय भारतीय टोलीमा बलिङ र तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै आएका ठाकुरलाई दिल्लीले १० करोड ७५ लाख खर्चियो ।

ठाकुरले याे सिजनमा आफ्नाे न्यूनतम मूल्य २ करोड भारु राखेका थिए । ठाकुरका लागि दिल्ली, पन्जाब र चेन्नईबीच प्रतिस्पर्धा भएको थियो । 

गत वर्ष चेन्नईलाई विजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेका उनले १६ खेलमा २१ विकेट लिएका थिए। । ठाकुरले चेन्नईमा २ करोड ६० लाख भारु पाउँदै आएका थिए ।

उनले आइपिएलका ६१ खेलमा ६७ विकेट हात पारेका छन् । १९ रन दिएर ३ विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो । 

७.निकोलस पुरन, १० करोड ७५ लाख भारु (हैदराबाद)

वेस्ट इन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरनलाई सनराइजर्स हैदराबादले १० करोड ७५ लाख भारुमा अनुबन्ध गरेको छ । पुरनलाई २०१९ को अक्सनमा पन्जाब किंग्सले ४ करोड २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

पुरनले अक्सनमा न्यूनतम मूल्य १ करोड ५० लाख राखेका थिए । उनलाई किन्न चेन्नई, हैदराबाद र कोलकताबीच प्रतिस्पर्धा भएको थियो । पुरन कप्तानको लागि राम्रो विकल्प पनि हुन् ।

पुरनले आइपिएलमा ३३ खेल खेल्दा २ अर्धशतकसहित ६०६ रन जोडेका छन् । ७७ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो ।
 
६. वानिन्दु हसरंगा, १० करोड ७५ लाख भारु (बैंग्लोर)

श्रीलंकाका बलिङ अलराउन्डर वानिन्दु हसरंगालाई रोयल च्यालेन्जर्स बैंग्लोरले १० करोड ७५ लाख भारुमा फिर्ता ल्याएको हो । योसँगै वानिन्दु आइपिएलमा सर्वाधिक मूल्यमा बिक्ने श्रीलंकन खेलाडी बनेका छन् ।

गत वर्ष एडम जाम्पाको अनुपस्थितिमा वानिन्दुलले बेंग्लोरबाटै खेलेका मात्र दुई खेलमा मौका पाउँदा १ रन बनाएका थिए । 

अक्सनमा १ करोड न्यूनतम मूल्य भए पनि उनले पन्जाब, हैदराबाद र बैंग्लोरबीच प्रतिस्पर्धा हुँदा महँगो मूल्य पाएका हुन् । पछिल्लो समय उनी उत्कृष्ट लयमा छन् । 

५. हर्षल पटेल, १० करोड ७५ लाख भारु (बैंग्लोर)

२०२१ का पर्पल क्याप विजेता हर्षल पटेललाई टोलीमा फर्काउन रोयल च्यालेन्जर्स बैंग्लोरले १० करोड ७५ लाख भारु खर्चियो । पटेलले २०२१ मा १५ खेलमा ३२ विकेट लिँदै कीर्तिमान कायम गरेका थिए । गत वर्ष उनलाई बैंग्लोरले नै २० लाख भारु खर्चिएको थियो ।

एकै सिजनमा सर्वाधिक विकेट लिने बलरको कीर्तिमान पटेलले ड्वेन ब्राभोसँग बराबरी गरेका हुन् । पटेलले मध्यक्रम र डेथ ओभरमा राम्रो बलिङ गर्दै आएका छन् । उनी तल्लोक्रममा ब्याटिङको क्षमता पनि राख्छन् । पटेलले न्यूनतम मूल्य २ करोड भारु राखेका थिए।

उनले आइपिएलमा ६३ खेल खेल्दा ७८ विकेट हात पारेका छन् । २७ रन दिएर पाँच विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो । साथै उनले ब्याटिङमा १८७ रन बनाएका छन् । 

४.लियम लिभिङ्स्टोन, ११ करोड ५० लाख (पञ्जाब)

इंग्लिस ब्याटिङ अलराउन्डर लियम लिभिङ्स्टोनलाई पञ्जाव किंग्सले ११ करोड ५० लाखमा भित्र्याएको छ । 

उनले आइपिएलमा ९ खेल खेल्दा ११३ रन बनाएका छन् । ४४ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो । उनलाई अघिल्लो संस्करण ७५ लाख भारुमा राजस्थान रोयल्सले अनुबन्ध गरेको थियो ।

न्यूनतम मूल्य १ करोड भारु राखेका लिभिङस्टोनलाई भित्र्याउन गुजरात टाइटन्सले पनि चासो देखाएको थियो । ब्यटिङका साथै स्पिन बलिङ पनि गर्न सक्ने क्षमता भएका उनी पछिल्लो समय राम्रो लयमा देखिएका छन् ।  

३.श्रेयस अय्यर, १२ करोड २५ लाख भारु (कोलकता)

भारतीय युवा ब्याटर श्रेयस अय्यरका लागि कोलकता नाइट राइडर्सले १२ करोड २५ लाख भारुमा खर्चियो । अक्सनमा अय्यरलाई किन्न दिल्ली क्यापिटल्स, लखनऊ सुपर जायन्ट, कोलकता नाइट राइडर्सबीच कडा प्रतिस्पर्धा भएको थियो । 

२०१५ देखि दिल्लीबाट आइपिएल खेल्दै आएका अय्यरले ८७ खेलमा १६ अर्धशतकसहित २ हजार ३७५ रन बनाएका छन् । ९६ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो।

अय्यरले न्यूनतम मूल्य २ करोड राखेका थिए । उनले दिल्लीबाट ७ करोड भारुमा खेल्दै आएका थिए । उनको कप्तानीमा दिल्लीले सन् २०२० आइपिएल फाइनल खेलेको थियो । कोलकाताले कप्तान बनाउने सम्भावना पनि छ ।

२. दीपक चाहर, १४ करोड भारु (चेन्नई)

तीव्र गतिका बलर दीपक चाहर अक्सनमा सर्वाधिक मूल्य पाउने भारतीय बलर हुन् । दीपक पावर प्लेमा नयाँ बलका साथ स्विङ र तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । बलिङसँगै ब्याटिङमा पनि योगदान दिन सक्ने भएकाले उनलाई अक्सनमा चेन्नईले १४ करोड खर्चेर फिर्ता लिएको हो । 

दीपकले चेन्नईमा यसअघि ८० लाख मात्र मूल्य पाउँदै आएका थिए । उनले २ करोड न्यूनतम मूल्य राखेका थिए । सुरुमा दिल्ली र हैदराबादबीच कडा प्रतिस्पर्धा भएको पनि पछि चेन्नईले रुचि देखाउँदै १४ करोडमा टोलीमै राखेको हो ।

चाहरले आइपिएलमा ६३ खेल खेल्दा ५९ विकेट हात पारेका छन् । १३ रन खर्चिएर ४ विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो । 

१.इशान किशन, १५ करोड २५ लाख भारु (मुम्बई)

भारतीय बायाँ हाते विकेटकिपर ब्याटर इशान किशनलाई मुम्बई इन्डियन्सले कीर्तिमानी मूल्य १५ करोड २५ लाख भारुमा खर्चेको थियो ।

किशनलाई किन्न पन्जाब किंग्स, सनराइजर्स हैदराबाद र मुम्बईबीच कडा प्रतिस्पर्धा भएको थियो। योसँगै उनी आइपिएल अक्सन इतिहासमा मूल्य पाउने विकेट किपर पनि बनेका छन् ।

किशनलाई मुम्बईले नै रिलिज गरेको थियो । अघिल्लो सिजिन किशनले ६ करोड २० लाख भारु पाएका थिए । किशनले आइपिएलमा ६१ खेल खेल्दा ९ अर्धशतकसहित १ हजार ४५२ रन बनाएका छन् । ९९ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो । अक्सनमा उनको न्यूनतम मूल्य २ करोड भारु थियो । 

  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १७:२१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया