कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको धनगढी मेयर लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सत्यवती एकेडेमीले विजयी सुरुवात गरेको छ ।
१९ वर्षमुनिको विद्यालयस्तरीय प्रतियागिताको छैठौं संस्करणको उद्घाटन खेलमा सत्यवतीले लिटिल फ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गरेको हो ।
सत्यवतीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पुरै २० ओभर ब्याटिङ गरे पनि ८ विकेटको क्षतिमा १२४ रन मात्र बनाउन सक्यो ।
लिटिल फ्लावरका लागि कप्तान बिपिन रावलले सर्वाधिक ६२ रन बनाए । नरेन भट्टले २८ रन जोडे ।
सत्यवतीका लागि निरज भट्ट र युवराज खत्रीले दुई-दुई विकेट लिँदा सन्तोष कार्की, सन्दिप खत्री र सुजन गौतमको नाममा एक-एक विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको सत्यवतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । उसका लागि सन्दिप खत्रीले सर्वाधिक ६६ रन बनाए ।
सन्तोष कार्कीले ३३, खगेन्द्र जोशीले ३२ तथा आदील अन्सारीले ३० रनको योगदान दिए ।
लिटिल फ्लावरका प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई-दुई विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच सन्दिप खत्री घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा होलिल्याण्ड स्कुल र एभरेस्ट एकेडेमीले तथा दोस्रो गुरुकुल मिडियम स्कुल र स्टेपिङ स्कुलले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको धनगढी उपमहानगरपालिका मेयर नृपत्रहादुर वडले उद्घाटन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।