logo-img

सभामुखले बोलाएको सर्वदलीय बैठकमा के के भयो छलफल ?

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । सिंहदरबारमा बसेको आजको सर्वदलीय बैठक झन्डै ४ घन्टा लामो चल्यो । 

बैठक सकिएपछि संसद बैठक सुचारु गराउने र छलफल अगाडि बढाउनेबारे विभिन्न दलका नेताहरुले धारणा राखेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । 
 

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका नेताहरुको उपस्थिति थियो । बैठकमा विशेषतः सदन सुचारु गर्ने विषयमा छलफल भएको थियो । तर, संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमाले यो बैठकमा सहभागी थिएन । 

यसअघि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएपछि नेकपा एमालेले आफू बैठकमा उपस्थित नहुने जनाएको थियो । पार्टीले कारबाही गरेको १४ जना सांसदलाई सांसदबाट निष्कासन गरेको सूचना टाँस नगरेर सभामुख सापकोटाले संवैधानिक काम नगरेको भन्दै उनको राजीनामा वा बर्हिगमनको माग गर्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।



आजको बैठकमा सभामुख सापकोटाले अमेरिकी सहयोग परियोजना एमसिसी र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको महाअभियोगको विषयमा पनि छलफल भएको जानकारी दिएका छन् ।

'एमसीसीबारे सबैले धारणा राखेका छन् । सबैका धारणालाई तटस्थ र स्वतन्त्र रुपमा सुनेको छु,’ सभामुख सापकोटाले भनेका छन्, ‘मैले स्वतन्त्र र निष्पक्ष रुपमा निर्णय गर्नुपर्छ।'

बैठकमा न्यायालयको स्वतन्त्रतका लागि प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग ल्याउनु परेको नेताहरुले बताएका थिए । आइतबार सत्तारुढ तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदको हस्ताक्षरसहित जबरामाथि महाअभियोग लगाइएको छ । महाअभियोग लागेसँगै जबरा निलम्बित भएका छन् ।



  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया