प्रदेश ५ मा करार खेती !

रुपन्देही– प्रदेश ५ मा करार खेती कार्यक्रम सुरु भएको छ । 

भूमिहीन किसानलाई लक्ष गरी प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले करार खेती कार्यक्रम अघि सारेको हो । 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेका अनुसार जग्गा अभावमा खेती गर्न नपाएका किसानलाई मन्त्रालयले करारमा जग्गा उपलब्ध गराउने नयाँ योजना ल्याएपछि करार खेतीका लागि ६५ जना कृषकले आवेदन दिएका छन् । 

पहिलो चरणको कार्यक्रम भएकाले आवेदन धेरै नआएको भन्दै उनले भन आगामी दिनमा सबै जिल्लामा पुगेर व्यापक प्रचारप्रसार गर्ने बताए ।  

आवेदनका लागि मन्त्रालयले २५ असोजदेखि ४५ दिनको म्याद दिएको थियो । विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्र तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आवेदन संकलनको काम भएको घिमिरेले बताए ।

योजनाअन्तर्गत स्थानीय तहले गरेको भूमिहीन भएको सिफारिसका आधारमा मन्त्रालयले खेती गर्नका लागि जमिन दिनेछ । मन्त्रालयका अनुसार तीन कट्ठाभन्दा कम जग्गा भएकालाई भूमिहीन मानिएको छ । 



खाली रहेका सरकारी जग्गा, गुठी, संस्थान तथा व्यक्तिगत जग्गाको सदुपयोग गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले करार खेती कार्यक्रम सुरु गरेको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए । 

‘जसको जमिन छैन, उसले खेती गरेर खान पाओस् भन्नका लागि मन्त्रालयले योजना बनाएको हो,’ उनले भने, ‘खेती गरेबापत स्थानीय तहले कायम गरेको भाडा मन्त्रालयले तिरिदिन्छ ।’ 



भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाका अनुसार करार खेती कार्यक्रमका लागि स्थानीय तहसँग समन्वय गरी खाली जग्गाको पहिचान गरिनेछ । सरकारी स्वामित्वमा रहेका जग्गा, गुठी वा संस्थानका जग्गा तथा जग्गाधनीको बाँझो जमिन छनोट गरी भूमिहीनलाई खेती गर्नका लागि प्रदान गर्ने सचिव देवकोटाले बताए । 

मन्त्रालयका सचिव देवकोटाका अनुसार यो कार्यक्रममा सहभागी हुन एकजना किसानले पाँच बिघा जग्गामा खेती गर्नुपर्ने हुन्छ । 

  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १७:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया