ओमानमा सम्पन्न चार देशीय टी-२० सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्रिय आयरल्यान्डसँग १६ रनले पराजित भयो । नेपाल पराजित भए पनि विकेटकिपर आसिफ शेखले देखाएको खेल भावनाले भने अहिले चौतर्फी प्रशंसा पाइरहेको छ ।
अल अमरेत क्रिकेट मैदानमा सोमबार नेपाल आयरल्यान्डविरुद्ध बलिङ गरिरहेको थियो । १९ औं ओभरमा तीव्र गतिका बलर कमलसिंह ऐरी बलिङमा आए । ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिने क्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी भने कमलसँग अल्झिएर लड्न पुगे ।
कमल मिडविकेटमा गएर बल लिने क्रममा म्याकबर्नीसँग ठोक्किन पुगेका हुन् । उनी पुनः उठेर क्रिजतर्फ दौडे । क्रिजको मध्य भागमा लडेका उनलाई रन आउटको लागि कमलले आसिफलाई बल दिए । आसिफले चाहेको भए सहजै रन आउट गर्न सक्थे । म्याकबर्नी क्रिजको रेखाभन्दा धेरै टाढा थिए । तर, आसिफले रन आउट भने गरेनन् ।
कमल रनरको क्षेत्रमा पुगेर जुध्न पुगेका थिए । हुन त त्यसको फाइदा उठाउँदै नेपालले सहज रन आउट गराउन सक्थ्यो । म्याकबर्नीले पनि निराश हुँदै रनको गति घटाएका थिए ।
आसिफले स्टम्प नजिकै बल लगे । तर, उनले रन आउट भने गरेनन् । त्यसपछि म्याकबर्नी सुस्त त्यहाँ पुगे । अर्को बलमा उनले शानदार छक्का प्रहार गरे ।आसिफले खेलमा उत्कृष्ट खेल भावना देखाए । जुन उनको र नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा देखाएको एउटा राम्रो संस्कार थियो ।
आसिफको यो कदमको अहिले नेपालमात्र नभएर अन्तर्राष्ट्रिय मिडिया र समर्थकले खुलेर प्रशंसा गरिरहेका छन् । खेलका क्रममा आइरिस कमेन्टेटर एन्ड्रयु लेनर्डले उक्त क्षणको खुलेर प्रशंसा गरेका थिए ।
भारतीय सञ्चारमाध्यम दि इन्डियन एक्सप्रेस, जि न्युज, अस्ट्रेलियाको फक्स स्पोर्ट्सलगायतले पनि आसिफको भावनाको प्रशंसा गरेका छन् । त्यस्तै, खेलकुद सम्बन्धी जानकारी दिने ट्विटर ह्यान्डल फ्यानकोडले पनि आसिफको प्रसंशा गर्दै भिडियो सेयर गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।