'खोप किनेर लगाए'को अभिव्यक्तिलाई लिएर एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । एमालेले स्वास्थ्यमन्त्री खतिवडाले झुट बोल्ने र अफबाह फैलाउने काम गरेको भन्दै राजीनामा माग गरेको हो ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध पहिलो डोज खोप पाँच हजार रुपैयाँमा 'किनेर लगाएको' भनी स्वास्थ्यमन्त्री खतिवडाले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए । स्वास्थ्यमन्त्री खतिवडाको भनाइ सरासर झूटो र अफवाहपूर्ण रहेको उनको भनाइ छ ।  

'खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झूटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले ०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिस्टर ख मा क्रम ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ' विज्ञप्तिमा भनिएको छ । उक्त अभिलेखमा ६२ वर्षका खतिवडाले ब्याच नम्‍बर ४१२० जेड ००४ को कोभिसिल्ड खोप लगाएको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बदनाम गर्नका लागि जनसमुदायलाई गलत सूचना दिइ कोभिडजस्तो संवेदनशील विषयमा अफवाह सिर्जनाको गरेको आरोप लगाएको छ । एमालेले मन्त्री खतिवडाले दिएको अभिव्यक्तिको निन्दा गर्दै तत्काल पदबाट राजीनामा दिन माग गरेको छ ।

'यति झूट बोल्ने व्यक्ति नैतिक रूपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ । साथै आफ्नो मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ' विज्ञप्‍तिमा भनिएको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १६:७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया