फर्जी अपराधी बनाएको भन्दै सांसदले गरे आइजिपीमाथि केरकार

काठमाडौं– संघीय संसद्को दीगो विकास तथा सुशासन समितिले नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालसँग निर्मला हत्याकाण्डको अनुसन्धानका सम्बन्धमा प्रस्टीकरण लिएको छ । 

घटनाबारे अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानबारे जानकारी दिन समितिको सोमबारको बैठकमा पुगेका आइजिपी खनालमाथि सांसदहरूले चर्को असन्तुष्टि व्यक्त गरे । उनीहरुले निर्मला पन्त बलात्कार र हत्यामा संलग्न अपराधी समाउन नसकेको भन्दै नेपाल प्रहरीको आलोचना गरे ।

समितिका सांसदहरुले प्रहरी नेतृत्वले काम गर्न नसक्ने भए राजीनामा दिएर बाटो खोल्नुपर्नेसमेत बताए ।

संघीय समाजवादी फोरमकी राष्ट्रिय सभा सांसद प्रमिलाकुमारीले कडा शब्दमा भनिन्, ‘हत्यारा पत्ता लगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्, हामी सक्षम मानिस नियुक्त गर्छौं ।’ 

प्रहरीले हत्यारा समाउन नसकेर अनि फर्जी अपराधी बनाएको भन्दै उनले आक्रोष पोखिन् । 

जवाफमा महानिरीक्षक खनालले निर्मला प्रकरणले आफूलाई निद्रा नलागेको भन्दै आइजिपी र नेपाल प्रहरी यो मुद्दामा एकदमै गम्भीर रहेको बताए । 



अपराधलाई राजनीतिकरण भएको भए वा कसैले अनुसन्धानमा हस्तक्षेप गरेको भए बाहिर ल्याउन नेकपाका सांसद दिनानाथ शर्माले सुझाए ।

अनुसन्धानमा कसैको दबाब नरहेको र दबाब आए पनि त्यसबाट आफू प्रभावित नहुने आइजिपीको जवाफ थियो ।



अनुसन्धानका लागि ल्याएको व्यक्तिको नाम सार्वजनिक हुँदा समस्या परेको गुनासो गर्दै आइजिपी खनालले कुनै निर्दोषलाई फसाउने काम नेपाल प्रहरीले नगर्ने दाबी गरे । आइजिपीले नचाहिँदो काम गरेजस्तो लाग्छ भने संसद्मा ल्याएर बर्दी खोलिदिन उनले चुनौती दिए । 

एउटा घटनालाई लिएर सिंगो प्रहरीको मूल्यांकन गर्न नहुने उनको तर्क थियो ।

  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार २०:१२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया