\
प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चाप र राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको संख्या वृद्धि गरेको बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपालको प्रदेश-१ स्तरीय प्रथम भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उनले विगतको सरकारले कुनै पनि काम गर्न नसकेको र कार्य विशेषताले मन्त्रालयको विभाजन गर्नुपरेको धारणा व्यक्त गरे ।
मुख्यमन्त्री राईले मन्त्रिमण्डल विस्तारबाट केही खर्च वृद्धि भए पनि सरकारले राजस्व बढाउने विश्वास दिलाउँदै विगतको सरकारले ठूलो आर्थिक खाडल सिर्जना गरेकोमा त्यसलाई पुन: आफूले महत्वपूर्ण योजना ल्याउने बताए ।
उनले सरकारले बजेटको पुनरावलोकन गरी अनावश्यक योजना कटौती गरी आगामी १०/१५ दिनभित्र केन्द्रबाट थप बजेट ल्याई प्रदेशको समृद्धिका लागि केही नयाँ योजना ल्याउने बताए ।
मुख्यमन्त्री राईले प्रदेशका नामका लागि सबै राजनीतिक दल र सरोकारवालाको भेलाबाट सर्वसम्मत अथवा मतदान प्रक्रियाबाट आगामी प्रदेशसभाको अधिवेशनबाट टुंग्याउने विश्वास दिलाए ।
उनले प्रदेशको संरचना निर्माणका लागि यही आर्थिक वर्षभित्र जग्गाको खोजी गरी आगामी आर्थिक वर्षमा निर्माण कार्य सुरू गर्ने जानकारी दिए ।
मुख्यमन्त्री राईले सञ्चारकर्मीको हकहित र वृत्ति विकासका लागि मन्त्रालयमा थप बजेट विनियोजन कार्यान्वयन गर्ने बताउँदै सञ्चारकर्मीको सुझाव अनुसार प्रादेशिक सञ्चार प्रतिष्ठान विधेयकमार्फत ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले महिला तथा अपाङ्गतालाई पत्रकारिता पेशाप्रति आकर्षण जगाउन प्रोत्साहनको व्यवस्था गर्ने बताए ।
उनले रेडियो, टेलिभिजन प्रदेशस्तरमा दर्ताका लागि विधि कानुनअनुसार ऐन बनाउने कार्य भइरहेको जानकारी दिए। नेकपा (एकीकृत समाजवादी) का प्रदेश सचिव महेश रेग्मीले स्वार्थ भन्दामाथि उठेर देश र समाज परिवर्तनका लागि एक ढिक्का भई अगाडि बढनुपर्नेमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।