बैतडीमा स्थानीय तहको निर्वाचनका लागि नौ मतदानस्थल थपिए

बैतडीमा आगामी स्थानीय तहको निर्वाचनका लागि नौ मतदानस्थल थपिएका छन् । यस्तै, दुईवटा मतदानस्थललाई सार्ने निर्णय भएको छ । भौगोलिक रूपमा टाढा रहेका र मतदाता संख्या बढी भएका स्थानमा मतदानस्थल थप गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका तथा डिलाशैनी गाउँपालिकामा मतदानस्थल थपिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । 

मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी मतदानस्थललाई थप गर्ने निर्णयसहित गत वर्ष निर्वाचन आयोगलाई सिफारिस गरेको थियो । 

यसैबीच, जिल्लाको मेलौलीमा रहेको मणिलेक माध्यमिक विद्यालयको मतदानस्थललाई सारेर वडा नं १ को जनचेतना आधारभूत विद्यालयमा राख्न सिफारिस गरिएको छ भने दोगडाकेदार गाउँपालिका–४ मा रहेको हुनैनाथ आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई पञ्चकोटी आधारभूत विद्यालयमा सारिएको छ । 

विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनका बेला १२० मतदानस्थल रहेको बैतडीमा अहिले नौवटा मतदानस्थल थपगरी १२९ पुर्याइएको छ ।





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार १९:१६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया