सत्ता गठबन्धनको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसिसीबारे ‘निर्णायक’ छलफल गर्नका लागि बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको छलफलपछि गठबन्धनको बैठक बेलाइएको हो । बैठक बाेलाउनुअघि देउवा र प्रचण्डबीच बुधबार बालुवाटारमा भएको थियो । साे छलफलपछि प्रधानमन्त्री देउवा बुधबारको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल नगर्नसमेत सहमत भएका थिए ।
माओवादीले अहिलेकै अवस्थामा एमसिसी टेबल गर्न नहुने अडान कायमै राखेको छ । उसले एमसिसी टेबल भए विपक्षमा मतदान नगर्नुका साथै सरकारबाट पनि बाहिरिने चेतावनी दिइसकेको छ । साथै, नेकपा एकीकृत समाजवादी पनि यथास्थितिमा एमसिसी पास गर्न नहुने पक्षमा छ ।
गठबन्धनकै दल राष्ट्रिय जनमोर्चाले यसअघि नै एमसिसीको विपक्षमा रहेको बताइसकेको छ । उसले एमसिसीको खुलेरै विरोधसमेत गरिरहेको छ । जनता समाजवादी पार्टी (जसपा) भने एमसिसीबारे विभाजित छ । जसपाभित्र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसिसी पास हुनुपर्ने पक्षमा लगातार जोड दिइरहेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव भने तत्काल एमसिसीको विपक्षीमा छन् । एमसिसीकै कारण जसपा विभाजनको आशंका पनि हुन थालेका छन् । जसपा अध्यक्ष यादव आज बस्ने गठबन्धनको बैठकमा सहभागी नहुने भएका छन् ।
उनी यो बैठक छल्नका लागि सिराहामा पार्टीको कार्यक्रम राखेका छन् । बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराई भने उपस्थित हुनसक्ने सम्भावना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।