'स्वास्थ्य प्रतिष्ठान मधेसलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलो'

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलोका रूपमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बढेको बताएका छन् । 

प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने उद्घोष गरेअनुरूप पहिलो खुड्किलोका रूपमा प्रतिष्ठानलाई अघि बढाएको बताए । 

विषम परिस्थितिमा सुरु भएको प्रतिष्ठान एक वर्षभित्रै चारवटा विषयमा स्नातक शिक्षाको अध्ययन अध्यापन सुरु गर्नुका साथै विशेष कोभिड अस्पतालको सञ्चालन र विशिष्टिकृत सेवाको सञ्चालन गर्नु स्वागत योग्य रहेको उनले बताए ।  

प्रतिष्ठानका पदाधिकारी तथा चिकित्सकको प्रयासलाई सराहना गर्दै मुख्यमन्त्री राउतले आगामी दिनमा प्रतिष्ठानलाई उद्देश्य प्राप्तिको दिशामा अघि बढाउन आवश्यक सम्पूर्ण सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिवद्धतासमेत व्यक्त गरे । 

प्रदेश सरकारले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियान अन्तर्गत सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको स्थापना भइसकेको र वीरगञ्जमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको तयारी अन्तिम चरणमा रहेको उनले बताए । 

प्राविधिक शिक्षासम्बन्धी विधेयकसमेत संसदमा विचाराधीन रहेकोले एक महिना भित्रै पास हुने उनले विश्वास व्यक्त गरे । मुख्यमन्त्री राउतले विधेयक पास भए लगत्तै प्रदेश भरिका सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाको अध्ययन अध्यापन सहज हुने दावी गरे । 



प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री राउतले हाल सञ्चालनमा रहेको स्थानबाट प्रतिष्ठान अन्यत्र नसर्ने दाबी गरे । गुठी मातहत रहेको जग्गा हाल मणिपालले लिजमा लिएको भएपनि जग्गा प्राप्तीको प्रक्रिया प्रदेशले सुरु गरिसकेको हुँदा प्रतिष्ठान अन्यत्र सर्ने कुनै सम्भावना नरहेको उनले बताए ।



  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १५:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया