संसदको अंकगणितः माओवादी विपक्षमा हुँदा पनि पारित हुनसक्छ एमसिसी

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी टेबल गराएरै छाड्ने निर्णय गरेका छन् । 

यसअघि बुधबार सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसी टेबल भएको खण्डमा गठबन्धन छोड्ने निर्णय गरे पछि देउवा आफ्नो अडानमा थप अडिग भएका हुन् ।

एमसिसी संसदमा टेबल गराएरै छाड्नेबारे उनले नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी​बेरीलाई समेत वचन दिएका छन् । देउवा र बेरीको भेट बुधबार साँझ बालुवाटारमा भएको थियो । त्यस्तै, देउवाले नेपाली कांग्रेसको कार्यसम्पादन समितिबाट यसका लागि अनुमति लिइसकेका छन् । कांग्रेसका सबै सांसदहरुले एमसिसी पारित गर्नु पर्ने अडान राखिरहेका छन् ।

तर, माओवादी केन्द्रले गठबन्धनबाट नै आफूहरु अलग हुने चेतावनी दिएपछि बुधबार देउवाले एमसिसी टेबल गराउन सकेनन् । शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा भने देउवाले एमसिसी टेबल गराएरै छाड्ने उनीनिकट एक कांग्रेस नेताले फरकधारलाई बताएका छन् । संसदमा उपस्थित सांसदको संख्याको बहुमतले प्रस्ताव पारित गर्ने भएकाले एमसिसी पारित हुनेमा पनि देउवा ढुक्क छन् ।

संसदको गणितअनुसार अहिले नेपाली कांग्रेसका ६० जना सांसद एमसिसीको पक्षमा छन् । संसदबाट निलम्बित मोहम्मद अफ्ताब आलम र विजयकुमार गच्छदार यो प्रक्रियामा सहभागी हुन पाउने छैनन् । त्यस्तै, कांग्रेस सांसद प्रदीप गिरि पनि यो प्रक्रियामा अनुपस्थित हुने भएका छन्, उनको भारतमा उपचार भइरहेको छ ।

कांग्रेसलाई गठबन्धन टुटेको खण्डमा नेकपा एमालेले पनि साथ दिनसक्ने अनुमान छ । तर, एमसिसी पारित गराउनका लागि कांग्रेसले एमालेको साथ नलिँदा पनि उपस्थित संख्याको बहुमत पुर्याउन सक्ने हिसाबमा ऊ छ ।



कांग्रेसलाई एमसिसीको पक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका १२ सांसद र जनता समाजवादी पार्टीमा डा. बाबुराम भट्टराई पक्षधर कम्तिमा १० सांसदले एमसिसीको पक्षमा मतदान गर्नेछन् भन्ने विश्वास छ । 

एमालेले संसदमा अवरोध कायम राख्ने भएकाले उसले एमसिसी पारित गर्ने वा विफल गराउने भन्नेमा भाग नलिन सक्छ । उसका भीम रावललगायतका केही सांसदले एमसिसीको विपक्षमा मत दिन सक्छन् । यो सबै हुँदा पनि संसदमा उपस्थित संख्याको आधा एमसिसीको पक्षमा हुने कांग्रेसले विश्वास लिएको हो ।



संसदमा ८० भन्दा बढी मत एमसिसीको पक्षमा पर्ने निश्चित मानेर प्रधानमन्त्री देउवाले शुक्रबारको बैठकमा नै एमसिसी टेबुल गराउन खोजेका हुन् । संसदमा माओवादी केन्द्रका ४९, राप्रपा, जनमोर्चा र नेमकिपाका ३ सांसद र केही नेकपा एकीकृत समाजवादीका सांसद एमसिसीको विपक्षमा उभिए पनि यो संख्या ६० नकट्ने अनुमान देउवाले गरेका छन् ।

‘केही समय यता देउवाले एमसिसी टेबल गर्न दिनका लागि प्रचण्ड र माधवकुमारसँग आग्रह गरिरहेका छन्,’ कांग्रेसका देउवानिकट ती नेताले फरकधारलाई बताए, ‘प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाभियोग प्रस्ताव ल्याउँदा पनि योे विषयमा छलफल भएको थियो ।’ ती नेताले यही पहिले भएको सम्झौताका कारण पनि प्रचण्ड र नेपाल पछाडि हट्ने विश्वास देउवाले लिएको बताए ।

‘अर्कोतिर नेकपा एमालेसँग यो गठबन्धन टुटेको सन्दर्भमा पनि सहकार्य हुनसक्ने स्थिति बन्नसक्छ,’ ती नेताले भने, ‘त्यसैले देउवा एमसिसी टेबल गर्ने र अगाडि बढ्ने मुडमा हुनु स्वभाविक हो ।’


  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १७:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया