गठबन्धन बैठकमा के भयो ? देउवा किन पुगे बालकोट ?

सत्तारुढ पाँच दलीय बैठक सकिएको केही समयमा नै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित उनकै निवास पुगेका छन् । यसले राजनीतिक वृत्तमा अनेक शंका उपशंका जन्माएको छ ।

सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री बनेका देउवा र त्यही परमादेशका कारण प्रधानमन्त्रीबाट हटेका ओलीबीचको यो पाँचौ भेट हो । यसअघि २४ पुसमा पनि प्रधानमन्त्री देउवा बालकोटमा नै पुगेर ओलीलाई भेटेका थिए ।

यी दुवैले यहीबीचमा पार्टीको महाधिवेशन गरेका छन्, दुवै जना पार्टीको नेतृत्वमा दोस्रो पटक चुनिएका छन् । दुवैको एकअर्काको पार्टीको महाधिवेशनमा पनि भेट भएको थियो । केही समयअघि मात्र देउवाले ओलीलाई बालुवाटारमा नै बोलाएका थिए, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ओलीसँगको त्यो भेट अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफलका लागि बोलाइएको थियो ।

अहिले एमसिसीको चर्चा उत्कर्षमा छ । यही विषयमा केही दिन यता नेताहरुको दौडधूप चलिरहेको छ, यही सन्दर्भमा बिहीबार दिउँसो बालुवाटारमा गठबन्धनका दल छलफलमा थिए । तर, यो छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।

फेरि शुक्रबार बैठक बस्ने निष्कर्षमा सकिएको यो बैठकलगत्तै देउवा बालकोट पुगे । उनीसँगै पत्नी आरजु राणा पनि बालकोट पुगेकी छिन् । ओलीसँगको यो भेटघाट आकस्मिक चाहिँ होइन । बालकोट स्रोतका अनुसार आज दिउँसो नै प्रधानमन्त्री देउवाले ओलीलाई फोन गरेर आफू गठबन्धनको बैठकपछि आउने जानकारी दिएका थिए ।

गठबन्धनको बैठक आज एमसिसीको विषयमा निर्णायक छलफलका लागि बोलाइएको थियो । बुधबार नै प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल गर्न चाहेका प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका कारण यसलाई पछाडि धकेलेका थिए । प्रतिनिधिसभा बैठक सुरु हुनुभन्दा केही घन्टा अगाडि मात्र सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसी टेबल भएको खण्डमा गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो ।



यही सन्देश लिएर प्रचण्ड बालुवाटार पुगेका थिए । अन्तिम समयमा बिहीबार दिउँसोको गठबन्धनको बैठकसम्म एमसिसी टेबल नगर्ने सम्झौतामा पुगेका थिए, देउवा ।

तर, बिहीबार उनले सोचेजस्तो भएन । बिहीबार विहान फेरि प्रचण्डसँग भेट गरे देउवाले । बालुवाटार प्रधानमन्त्री निवास पुगेका प्रचण्डले आफ्नो अडान कायम राखे । देउवा आफ्नो अडानमा कायम रहे । कुनै निष्कर्ष निस्किएन यो बैठकमा पनि । त्यहाँबाट फर्किएका प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरे । प्रचण्ड र नेपालबीच सिंहदरबारमा छलफल हुँदा सहभागि थिए, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि । यी तीनले गठबन्धन कायम रहिरहन सक्ला वा नसक्ला भन्नेमा कुनै निर्णय निकाल्न सकेनन् । यता, सिंहदरबारमा यी तीनबीच कुराकानी हुँदा उता बालुवाटारबाट देउवाले बालकोटमा फोन मार्फत् साँझको समय लिएका थिए ।



गठबन्धनको बैठकमा आज सहमति हुने सम्भावना सुरु देखि नै देखिएन ।

‘आजको बैठकमा गठबन्धनका अन्य नेताहरु यहाँभन्दा अगाडिको अडानमा नै हुनुहुन्थ्यो, उहाँहरुले एमसिसी अहिले टेबल गर्न सकिँदैन भन्नुभयो,’ बैठकमा सहभागी नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले फरकधारलाई बताए, ‘हामीले त हाम्रो नीति स्पष्ट पारिसकेका छौँ, हामी एमसिसीको पक्षमा छौँ । प्रधानमन्त्रीले पनि एमसिसी अगाडि बढ्छ भन्नुभयो ।’
प्रधानमन्त्रीनिकट अर्का एक नेताका अनुसार यो बैठकमा नै प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपाललाई मन्त्रीहरु फिर्ता बोलाए पनि हुने संकेत गरेका थिए । उनी गठबन्धन फुटेको खण्डमा पनि एमसिसी अगाडि बढ्नु पर्छ भन्नेमा भएको ती नेताले बताए ।

‘हामी एमसिसीलाई अगाडि बढाउने र यो समयमा नै गर्नुपर्छ भन्नेमा स्पष्ट छौँ,’ महतले भने, ‘हामीले यही कुरा गठबन्धनको बैठकमा राखेका हौँ । अन्य नेताहरुले समय माग्नुभयो । केही निष्कर्ष ननिस्किएपछि भोलि विहान फेरि बैठक बस्ने कुरा भएको छ ।’

गठबन्धनको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि आखिर देउवा किन ओलीनिवास पुगे त ? 

हामीले यही प्रश्न महतलाई राख्यौँ । 

‘संसदीय प्रक्रियामा विपक्षीको पनि ठूलो भूमिका र महत्त्व हुन्छ,’ उनले भने, ‘हामीले संसदमा एमसिसी टेबल गर्दा यसबारे जानकारी प्रतिपक्षलाई पनि दिनु महत्त्वपूर्ण हुन्छ । त्यही विषयमा जानकारी दिन र राजनीतिक छलफलका लागि प्रधानमन्त्रीज्यू प्रमुख प्रतिपक्ष दलका नेतालाई भेट्न जानु भएको हो । यो लोकतान्त्रिक प्रक्रिया हो ।’

गठबन्धन फुटेको खण्डमा एमालेको साथ लिएर अगाडि बढ्ने योजनामा देउवा छन् भन्ने चर्चा छ नि भन्ने प्रश्नमा महतले राजनीतिमा सबै सम्भावनाको ढोका खुला हुने र यस्तो सम्भावनाको विषयमा अबका राजनीतिक घटनाक्रम र अन्य पार्टीको स्थितिले पनि निर्धारण गर्ने बताए ।

देउवानिकट अर्का एक नेताले चाहिँ गठबन्धनमा कांग्रेस नरहेको खण्डमा सरकारको नेतृत्वमा रहिरहन र एमसिसी पारित गर्न आफूहरुले सहयोग गर्ने ओलीले वचन दिएका छन् । एमाले अध्यक्ष ओलीसँग यही विषयमा छलफल गर्न कांग्रेस नेता मीनेन्द्र रिजाल पनि बिहीबार दिउँसो बालकोट पुगेका थिए ।

फरकधारमा पछिल्ला यी घटनाक्रमबारे एमाले सचिव योगेश भट्टराईसँगको यो अन्तर्वार्ता पढ्नुहोस्, हेर्नुहोस्ः

मुलुकलाई संकटबाट बचाउन कांग्रेससँग गठबन्धन हुनसक्छ, सरकार बनाउन हाम्फालेर हामी जाँदैनौँः योगेश भट्टराई​

 

  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार २२:२४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया