गठबन्धनको भविष्य : यी हुन् अबका दुई सम्भावना

अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पास गर्ने वा नगर्ने भन्नेबारे यतिबेला सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच चर्को मतभेद छ । यही विवादकै कारण पाँच दलीय सत्ता गठबन्धन पनि संकटमा पुगेको छ । 

आज बसेको प्रतिनिधिसभाको बैठकमै एमसिसी टेबल गर्ने तयारीमा थिए, प्रधानमन्त्री शेरबहादुर देउवा । तर, सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा अन्ततः कार्यसूचीबाट अन्तिम समयमा हटाइयो । 

केही दिनदेखि बढ्दो राजनीतिक तरङ्गकाबीच बिहीबार साँझ एकाएक प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेपछि गठबन्धनका नेताहरू झनै सशंकित बनेका छन् । हुन त आजै बिहान सत्ता गठबन्धनका नेताहरुबीच बालुवाटारमा वार्ता तय भएको थियो । 

भेट हुने तय हुँदाहुँदै देउवा एकाएक बालकोट पुगेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाएक चार दलका नेतालाई खुमलटार बोलाए । सडकदेखि शीर्ष तहका नेतासम्मले प्रचण्डलाई एमसिसीको विरुद्धमा दबाब ‘प्रेसर’ थेग्नै नसक्ने अवस्थामा प्रचण्ड छन् । घोषणा भइसकेको स्थानीय निर्वाचनमा तालमेल गर्नेपर्ने चुनौतीका सामु प्रचण्डले साना दलहरूलाई आफूतिर केन्द्रीत गराएका हुन् ।

उता, गठबन्धन तोडेरै भए पनि एमसिसी पास गर्ने निष्कर्षमा छन् देउवा । अझ एमाले अध्यक्ष ओलीसँग एमसिसी पारित गराउन अनुरोध गर्दै बालकोट पुगेपछि गठबन्धन झनै धरापमा पुगेको हो । 

चुनावसम्मै एकै हुने भनिएको सत्ता गठबन्धन धर्मराएसँगै चुनावको मुखमा राजनीतिक दलहरूको सहकार्य कोसँग हुन्छ भन्नेमा आम चासो छ । यसैबीच एमालेका एकजना नेता कांग्रेससँग सहकार्य हुनसक्ने बताउँछन् 



गठबन्धनबाट कांग्रेस बाहिरिने, अरू यथावत !

बढ्दो राजनीतिक परिदृश्यका बीच सत्ता गठबन्धन ‘लगभग’ फुट्ने पक्का छ । यथास्थितिमा एमसिसी संसदबाट पारित नहुने प्रष्ट अडानमा देखिएका छन्, सत्तारुढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जसपा र राष्ट्रिय जनमोर्चा । 



एमालेले ढुलमुले प्रवृत्ति प्रस्तुत गरिरहेको छ । उता, सत्तारुढ मुख्य घटक कांग्रेस भने चाँडोभन्दा चाँडो पास हुनुपर्ने पक्षमा छ । अरू ४ दलकै सहयोगमा प्रधानमन्त्री बनेका देउवालाई तीनिहरूलाई फकाउन प्रयास नगरेका भने होइनन् । तर, यसअघि आफैंसँग एमसिसी अध्यक्षलाई पत्र पठाउने प्रचण्डको नीतिसँग देउवा सहमत हुन भने सकेका छैनन् । 

नेता प्रकाशशरण महतका अनुसार कांग्रेस कुनै पनि हालतमा एमसिसी सदनबाट पारित गर्ने पक्षमा लागेको छ । उनले भने, ‘एमसिसी हामी जसरी पनि पारित गर्छौं । पारित गर्दाखेरी भोलि के हुन्छ भन्ने भोलि नै डिसिजन हुन्छ ।’ सदनबाट प्रक्रिया अघि बढेपछि मात्र यसबारे बाँकी निर्णय हुने कांग्रेसको बुझाइ छ ।  

ओलीसँग थप हिमचिम बढाएसँगै गठबन्धनमा सामेल अन्य दलहरू भने सशंकित मात्र भएका छैनन्, आक्रोशित पनि भएका छन् । जसको स्पष्ट सन्देश अन्य दलका नेताहरूले शुक्रबार बिहान खुमलटारमा एक भेट गरेर दिइसकेका छन् ।

कांग्रेस र एमालेको चुनावी तालमेल

देश यतिबेला निर्वाचनको सम्मुखमा छ । सँगसँगै राजनीतिक दलहरूका आ–आफ्नै स्वार्थका कारण कतिबेला के निर्णय हुने हो भन्ने पत्तो छैन । 

बिहीबार मात्रै फरकधारसँगको सम्वादका क्रममा एमाले सचिव योगेश भट्टराईले कांग्रेस र एमालेबीच गठबन्धन हुनसक्ने खुलाएका थिए । उनले भनेका छन्, ‘उहाँले विश्वासको मत लिन सक्नु भएन भने चुनावको सुनिश्चितताका लागि नेकपा एमाले र कांग्रेसबीचमा एउटा सहमति पनि होला । तर, चुनाव तोकिएको मितिमा सम्पन्न गर्नका लागि मात्र यस्तो गठबन्धन पनि हुनसक्छ ।’

सत्ता गठबन्धन टुटेको खण्डमा प्रधानमन्त्री देउवा अल्पमतमा पर्ने र एमालेको साथको आवश्यक पर्नसक्ने विश्लेषण गर्दै नेता भट्टराईले त्यस्तो अवस्थामा गठबन्धन हुनसक्ने टिप्पणी गरेका हुन् ।

एमालेकै अर्का एकजना स्थायी कमिटी सदस्य भने ‘कांग्रेस–एमालेको तालमेल’ ले समाधानको बाटो समाउनसक्ने तर्क गर्छन् । अनौपचारिक कुराकानीका क्रममा ती नेताले भने, ‘लोकतान्त्रिक अभ्यास बचाउनका लागि कांग्रेस र एमालेको तालमेल हुनसक्छ । यो समाधानको बाटो पनि हुनसक्छ ।’

अर्कोतर्फ एमसिसी परियोजनाको बिरोधमा सत्तारुढ गठबन्धमै सामेल राजनीतिक दलका भातृ संगठनहरू दैनिकजसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म उत्रन थालेका छन् । जुन कुरा देउवालाई फिटिक्कै मन परेको छैन । 

माओवादी केन्द्रको आठौं महाधिवेशनमा सम्बोधन गर्न पुगेका देउवाले ‘कुरै नबुझी एमसिसीको विरोध गरेको’ भन्दै असन्तुष्टि राखेका थिए । पछिल्लो समय माओवादीले एमसिसीको बारेमा गलत प्रचार गरेको देउवाको बुझाई छ । जसका कारण एमसिसीको विषयलाई लिएर सुरु भएको मतभेद अन्ततः गठबन्धन नजोगिनेरी विकसित भएको घटनाक्रमले देखाइरहेको छ । 

देउवा र ओलीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरेको चार दलसँग नेपाली कांग्रेसको दूरी कम भएको बुझिन्छ ।

  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १४:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया