पार्टी र गठबन्धन बैठकमा गगनलाई किन अघि सार्दै छन् देउवा ?

शीर्ष तहको छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पनि प्रवेश भएसँगै राजनीतिमा युवा सहभागिताको कार्यान्वयन व्यवहारमा देखिएको छ । पाँच दलीय सत्ता गठबन्धनको बिहीबारको बैठकमा थापा सहभागी भएका थिए । 

थापा सहभागी मात्रै भएनन्, अहिले अत्यन्तै जटिल बनिरहेको विषय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा निर्णायक बन्न माओवादी केन्द्रलाई सुझावसमेत दिए । 

बिहीबार राति अबेरसम्म बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेता थापाले माओवादीलाई एमसीसीबारे ठोस निर्णय लिन भनेका थिए । यद्यपि उक्त बैठक निष्कर्षविहीन बन्यो । गठबन्धन टुटे पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेका थापाले अभिव्यक्ति दिँदै आएका छन् । 

केही समयअघिसम्म एमसीसी संशोधन गरेर पारित गर्नुपर्छ भन्दै आएका थापाले अहिले यथास्थितिमा पारित गर्नुपर्ने बताउन थालेका छन् । 

नेता थापालाई नजिकबाट चिन्ने नेता गुरुराज घिमिरेले थापा कांग्रेस महामन्त्रीसँगै प्रतिनिधिसभा सदस्य पनि भएकाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष तहको छलफलमा सहभागी गराएको बताए । 

‘कांग्रेस प्रतिपक्षीमा रहँदा पनि थापाले संसदमा महत्वपूर्ण भूमिका खेल्दै आएको र एमसीसी सदनबाट अनुमोदन गर्नुपर्ने विषय भएकाले थापा सत्ता गठबन्धनको बैठकमा सहभागी हुनुभएको हो,’ नेता घिमिरेले भने । 



नेता थापा महामन्त्री निर्वाचित भएलगत्तै सर्वदलीय बैठकमा पनि सहभागी भएका थिए । उच्चस्तरीय छलफलमा सहभागी भएको हिसाबले पार्टी सभापति देउवाले महामन्त्री थापालाई विश्वासपात्रको रूपमा लिएको बुझ्न सकिन्छ । 

सभापति बनेलगत्तै देउवाले नयाँ पुस्तासँग कसरी सहकार्य गर्लान् भन्ने धेरैको चासो थियो ।



१४औं महाधिवेशनमा नेता डा.शेखर कोइराला नेतृत्वको समूहबाट चुनावमा होमिएका थापा भारी मतले महामन्त्री बनेका हुन् । सान्दर्भिक विषयवस्तुलाई आकर्षक ढंगले उठान र प्रस्तुत गर्ने कलाले पनि थापा राजनीतिक वृत्तमा चर्चित छन् । 

०६२/६३ को जनआन्दोलनमा गणतन्त्रको मुद्दा अघि सारेपछि थापा चर्चित बनेका थिए । ०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका थिए । २०७० सालको दोस्रो संविधानसभामा काठमाडौं–४ बाट निर्वाचित भएका थिए ।  ईश्वरी बराल/न्युज कारखाना

  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १७:१२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया