कंगोको निर्वाचनः ७० लाखभन्दा बढी मत धाँधली हुन सक्ने

एजेन्सी– चुनावी पोस्टर जताततै टाँस्न थालिएको छ । उम्मेदवारहरू पनि दिनरात प्रचारमा लागेका छन् र पार्टीहरू चुनावी सभा एवं र्याली गर्न व्यस्त छन् । 

तर, अफ्रिकाको बारुदको डब्बाको रूपमा रहेको गणतन्त्र कंगोमा आगामी २३ डिसेम्बरमा हुने राष्ट्रपति र संसद्को चुनाव जति नजिक आउँदै छ चुनावी पर्यवेक्षकहरूको भनाइमा अनौठा घटनाक्रमको पटाक्षेप हुन अझै बाँकी छ । 

तुलनात्मक रूपमा शान्तिपूर्ण देखिएको चुनावी अभियान कुनै पनि बेला विस्फोट हुन सक्ने उनीहरूको भनाइ छ । विगतको इतिहास हेर्दा दीर्घकालीन राजनीतिक हलचल वा हिंसाबाट मुलुक अघि बढ्न सक्नेछ ।

‘चुनावको आयोजन त्यति पारदर्शी वा विश्वसनीय देखिएको छैन र जनता पनि आफूले रोजेका उम्मेदवार छान्न त्यति स्वतन्त्र छैनन्,’ नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगेले बताए, ‘त्यसैले, चुनावको नतिजाका विरुद्धमा प्रदर्शन अवश्य हुनेछ र यो लोकतन्त्रका लागि बिलकुल राम्रो होइन ।’

दशकौंदेखि गणतन्त्र कंगो अफ्रिकाको सम्भावना र दुःखान्तका रूपमा रहेको छ । भूगोलका दृष्टिबाट फ्रान्सको भन्दा झन्डै चार गुणा ठूलो कंगोमा बहुमूल्य धातुको भण्डार छ । यहाँ सुनदेखि युरेनियम तथा तामादेखि कोबाल्टसम्मको अथाह भण्डार छ । 

तर, यो धन यहाँका केही व्यक्तिले मात्र उपभोग गरिरहेका छन् । यहाँ भ्रष्टाचार र असमानता धुरीमा छ । यहीबीच, हिंसा नै राजनीतिको कसौटी बनेको छ । विगतमा जायर नामले चिनिने गणतन्त्र कंगोमा बेल्जियमबाट सन् १९६० मा स्वतन्त्रता हासिल गरेयता शक्तिको शान्तिपूर्ण हस्तान्तरण हुन सकेकै छैन । 



विगत २२ वर्षमा भएका दुईवटा बीभत्स युद्धले मुलुकलाई तहसनहस बनाएको छ । युद्धमा लाखौं मानिसको मृत्यु हुनुका साथै दक्षिण र मध्य अफ्रिकाबाट सैनिक हस्तक्षेप गर्नुपरेको थियो । 

विश्लेषकहरूका अनुसार मुलुकका मध्य र पूर्वी भेगमा जारी तल्लो स्तरमा सीमित देखिएको लडाइँ पूरै देशभर क्षणभरमा पूर्ण युद्धमा परिणत हुन सक्नेछ । 



राष्ट्रपतिका लागि चुनावी मैदानमा २१ जना प्रतिस्पर्धामा छन् । वर्तमान राष्ट्रपति ४७ वर्षीय जोसेफ काबिलाले सन् २००१ देखि मुलुकको नेतृत्व सम्हालिरहेका छन् । उनी राजनीतिक हत्या गरिएका लरेन्ट काबिलाका छोरा हुन् । यो चुनावमा जोसेफ काबिलाले राष्ट्रपतिमा प्रतिस्पर्धा गरेका छैनन् ।

तर, चुनावी मैदानमा रहेका सबैजसो उम्मेदवार विवादमा मुछिएका छन् । काबिलाको समर्थनमा इमानुएल रमाजानी साडारी राष्ट्रपतिको उम्मेदवार बनेका छन्, र उनीमाथि युरोपेली युनियनले प्रतिबन्ध लगाएको छ । 

सोमबार, युरोपेली युनियनले साडारीमाथि यात्रा प्रतिबन्ध र सम्पत्ति फ्रिज गर्ने विगतको निर्णयलाई पुनः यथावत् राख्ने निर्णय गरेको छ । गृहमन्त्री हुँदा विपक्षीलाई निर्मम ढंगबाट दबाएको उनीमाथि आरोप छ । 

कंगोको निर्वाचन आयोगले दुईजना प्रमुख व्यक्तिलाई उम्मेदवार हुनबाट प्रतिबन्ध लगाएका कारण विपक्षीहरूको स्थिति पनि कमजोर बनेको छ । आयोगले पूर्व युद्ध सरदार जाँ–पियर बेम्बा र क्षेत्रीय सामन्त मोइज काटुम्बीलाई राष्ट्रपतिको उम्मेदवार हुनबाट रोकेको छ । उनीहरू दुवैलाई मुलुकका पश्चिमी र दक्षिणपूर्वी क्षेत्रबाट ठूलो समर्थन छ । 

आयोगको उक्त कदमका कारण दुईजना विपक्षी मुख्य प्रतिस्पर्धामा देखिएका छन्, युडिपिएस पार्टीका फेलिक्स सिकेकेडी र मार्टिन फायुलु । फायुलुलाई बेम्बा र काटुम्बीको बलियो समर्थन छ । 

मतदान मेसिन 

राजनीतिक विमति र शान्ति सुरक्षाको नाजुक स्थितिमा चुनावी सञ्चालनको विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ । चुनावमा प्रयोग गरिने दक्षिण कोरियामा निर्मित विद्युतीय मतदान मेसिनदेखि विदेशी चुनावी पर्यवेक्षकको अभाव समेतले चुनावमा आशंका उत्पन्न गराएको न्युयोर्क विश्वविद्यालयको कंगो अनुसन्धान समूहले जनाएको छ । 

विपक्षीहरू मतदान मेसिनका बारेमा विभाजित छन् । कंगोका सरकारी अधिकारीले अफ्रिकी युनियनबाट पर्यवेक्षणका लागि आग्रह गरेका थिए । तर, उनीहरूले युरोपेली युनियन र कार्टर फाउन्डेसनलाई आमन्त्रण गरेका छैनन् । 

एउटा फ्रेन्चभाषी प्रतिवेदनमा ७० लाखभन्दा बढी मत धाँधली गर्न सकिने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘यही परिस्थितिमा चुनाव गरिए यसको नतिजाका विरुद्ध वर्षौंसम्म विरोध हुनेछ, निर्वाचनको वैधानिकतालाई अझ कमजोर बनाउनेछ र पूर्वी तथा कसाई क्षेत्रमा जारी द्वन्द्व अझ बढ्नेछ ।’
 

  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १३:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया