मन्त्री पासाङ भन्छन्- एमसिसी राष्ट्रभन्दा माथि हुन सक्दैन
फाइल फाेटाे

प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई (पासाङ)ले एमसिसी राष्ट्रभन्दा माथि हुन नसक्ने टिप्पणी गरेका छन् ।

प्रेस सेन्टर नेपाल खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले राष्ट्र बच्यो भने मात्र सबथोक बच्ने भएकाले एमसिसी राष्ट्रभन्दा माथि हुन नसक्ने टिप्पणी राखेका हुन् । 

मन्त्री राईले एमसिसी सम्झौताको विषय टुंग्याउन राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएका छन् ।

उनले भने, ‘एमसिसी त्यति सजिलै अगाडि बढ्छ जस्तो लाग्दैन, यसले राष्ट्रिय सहमति खोज्छ, संशोधन गर्नुपर्ने बुँदामा पुग्नु पर्छ । राष्ट्र बचाउनु छ, राष्ट्र बच्यो भने त पार्टी बच्छ, राष्ट्र छैन भने पार्टी कहाँ रहन्छ, राष्ट्र छैन भने हामी जनता कहाँ रहन्छौं ? राष्ट्र जोगाउनका लागि वहस छलफल भइरहेको छ, दृष्टिकोणहरू केही बाझिएको होला । आँखा चिम्म गरेर पास गर्नुपर्छ भन्ने पनि होइन । यसको समाधान राजनैतिक दलले निकाल्छ र निकाल्नु पर्छ । राष्ट्रिय सहमति गरेरै जान पर्छ ।’ 

नवनिर्वाचित मन्त्री राईले वर्तमान सत्ता गठबन्धन सजिलै नटुट्ने दावी गरेका छन् । राष्ट्रिय स्वाधीनता र संविधान बचाउनलाई एकठाउँमा जुटेको गठबन्धन यति सजिलै टुट्न नसक्ने मन्त्री राईको दावी थियो । 

उनले वर्तमान गठबन्धनमाथि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय शक्ति केन्द्रको गिद्धे नजर परिरहेको बताएका छन् । 



‘हामी गठबन्धनलाई बचाउनु पर्छ भन्नेमै छौँ । हामी अग्रगामी पार्टी राष्ट्रिय स्वाधीनता र संविधान बचाउनलाई जुटेका हौँ । यो सायद यति छिटै टुट्छ जस्तो लाग्दैन । टुट्यो भने राजनीतिक रूपमा नियोजित ढंगले टुट्न सक्छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको पनि गिद्धे नजर छ’, उनले भने । 

मन्त्री राईले तत्कालीन नेकपा छँदा एमसिसीलाई अध्ययन गरेर संशोधनबिना पास गर्न नसकिने धारणा बनेको चर्चा गरेका छन् । उनले प्रदेशको नामाकरण चाँडै टुंग्याउन पहल भइरहेको पनि जानकारी दिए । 



  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार ८:१५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया