प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका पाँच सय एक कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिएकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा कैदीबन्दीहरू आज प्रजातन्त्रको दिवसको दिन छुटेका हुन् ।
चितवन कारागारका ११ कैदीले पनि सजाय मिनाहा पाएका छन् । तीमध्ये सवारी ज्यान मुद्दाका पाँच (नवलपरासी पूर्वका दुई, चितवनका दुई र भारतीय एक) र कर्तव्य ज्यान मुद्दाका दुई (चितवन र मकवानपुरका एक एक) जना छन् ।
बहुविवाह मुद्दाका नवलपरासी पूर्वका एक, वन पैदावार चोरी निकासी मुद्दाका चितवनका एक र चोरीका मुद्दाका दुई (गोर्खा र धादिङका एक एक) जनाले सजाय मिनाहा पाएका चितवन कारागारका जेलर कमल काफ्लेले जानकारी दिए ।
सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा बानी व्यवहारमा सुधार गरेका कैदीबन्दीको सजाय मिनाहा गर्ने गरेको छ । यससँगै चितवन कारागारमा अब तीन आश्रित बालिकासहित सात सय १९ कैदीबन्दी रहेका छन् । तीमध्ये ५५ महिला र ६ सय ६१ पुरुष कैदीबन्दी रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।