logo-img

गठबन्धनलाई आगामी निर्वाचनमा पानीमुनि गए पनि नछाड्ने ओलीको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको दाबी गरेका छन् ।

अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने बताएका हुन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरूलाई आगामी निर्वाचनमा पानीमुनि गए पनि आफ्नो पार्टीले नछाड्ने चेतावनी दिए ।

अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरूलाई एमालेमै फर्कन आह्वान गरे । प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकालाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ ।

'कहिले प्रचण्डले झुक्याएर छ्‌वास्स हालिदिएको छ, सिन्दुर । कहिले काँग्रेसले हालिदिएको छ । आजको जमानामा पनि त्यस्तो कुरामा भर परेर हुन्छ ? हामी माइतीहरू सिन्दुर कसले हाल्यो भनेर खोजेर चेलीलाई जिम्मा लगाउने होइन । आउनुस्, तिनीहरूले झुक्याएर हालिदिएका सिन्दुर छोडिदिनुस् । यहाँ आउनुस् लक्स साबुनले नुहाउनुस् । नेकपा एमालेका आउनुस्, देश बनाउने अभियानमा लागौं,’ उनले भने ।

अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दुरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढन आफ्नो पार्टी सक्षम रहेको दाबीसमेत गरे । उनले निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाए ।





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया