२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

कर्णालीमा बढे मानवअधिकार हननका घटना

कर्णाली प्रदेशमा मानवअधिकार हनन‍्का घटना बढ्दै गएका छन् । इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२१ मा मानवअधिकार र ज्यादतीका घटनाबाट ४ सय ३० जना पीडित भएका हुन् ।


जसमा मानवअधिकार उल्लङ्घनका घटनामा चार महिला र ३० पुरुष गरी ३४ जना रहेका छन् । बाँकी ३ सय २० महिला र ७६ पुरुष गरी ३ सय ९६ जना ज्यादतीका घटनाबाट पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र कर्णाली प्रदेशले जानकारी दिएको छ ।



त्यस्तै, सन् २०२० मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका ५ सय ४२ जना अभिलेख भएको इन्सेक कर्णालीको तथ्यांक रहेको छ । जसमा मानवअधिकार उल्लङ्घनका घटनामा सात महिला र ५१ पुरुषसहित ५८ जना पीडित भएका हुन् । ज्यादतीका घटनाबाट ३ सय ३२ महिला र ९४ पुरुष गरी ४ सय ८४ जना पीडित भएको इन्सेकले अभिलेख राखेको छ ।

यस्तै, सन् २०२१ मा कारागारमा दुई जनाको मृत्यु भएको, राज्यपक्षबाट एक जना पुरुष र अन्य पक्षबाट २० जना महिला तथा १४ जना पुरुष गरी ३४ जनाको हत्या भएको इन्सेकले अभिलेख राखेको छ ।



सन् २०२० मा भने राज्य पक्षबाट एकजना पुरुष तथा अन्य पक्षबाट २३ जना पुरुष र सात महिलासहित ३१ जनाको हत्या भएको इन्सेकले जनाएको छ  । 

यस वर्ष कर्णाली प्रदेशमा २३ जना मानवअधिकार रक्षक पीडित भएका छन् । जसमा १३ जना स्वास्थ्यकर्मी, तीन जना पत्रकार र दुई जना सामाजिक कार्यकर्ता तथा चारजना शिक्षक रहेका हुन् ।

८४ जना बालबालिका पीडित

सन् २०२१ मा बालअधिकारका घटनामा ८३ जना बालिका र एक जना बालक गरी ८४ जना पीडित रहेका छन् । यस वर्ष भएका बालविवाहबाट आठ, बेचविखनबाट दुई, विद्यालयमा शारीरिक दण्ड सजायबाट एक, बलात्कार घटनामा ५३ र यौन दुर्व्यवहारका घटनामा २० जना पिडित भएको इन्सेकले तथ्यांक सार्वजनिक गरेको छ ।



सन् २०२० मा बाल अधिकारका घटनामा ८७ जना बालिका र ६ जना बालक गरी ९३ जना पिडित  भएका थिए ।

शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशले आयोजना गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ सार्वजनिकीकरण तथा सन् २०२१ को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

सन् २०२१  मा विगतका वर्षहरुझैं महिलामाथि हुने हिंसाका घटनामा प्रवृत्तिगत कमी नआएको इन्सेकको निष्कर्ष छ । 

यस वर्ष दुई सय पाँच महिला पीडित

यस वर्ष प्रदेशभर महिलामाथि भएका हिंसाका घटनामा २ सय ५ जना पीडित भएको अभिलेख इन्सेकले राखेको छ । घरेलु हिंसाका घटना १ सय २१, बोक्सीको आरोप सात र बहुविवाहबाट ३३, बलात्कारका घटना २७, बलात्कार प्रयासका घटना ६, यौन दुर्व्यवहारका घटनामा नौ, बेचविखनका घटनामा एक र प्रसूति सेवा नपाउँदा एक जना महिला पीडित भएको इन्सेकले अभिलेख गरेको हो ।

यो वर्ष कर्णाली प्रदेशभर परिवारबाट नौजना महिलाको हत्या भएको छ र सन् २०२१ मा चारजना महिलाको परिवार सदस्यबाट हत्या भएको थियो ।

सन् २०२१ मा बलात्कारका घटनामा ८० जना, बलात्कार प्रयासका घटनामा ६, यौन दुर्व्यवहारका घटनामा २९ जना गरि १ सय १५ जना महिला तथा बालिका पीडित भएको इन्सेकले अभिलेख गरेको हो ।

‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ सार्वजनिकीकरण तथा सन् २०२१ को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा दैलेखका अमर सुनारलाई सातहजार नगद र प्रशंसापत्रसहित उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा सम्मान समेत गरिएको छ  ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी रहेका उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश शेसराज शिवाकोटीले द्वन्द्वका समयमा मावअधिकारकर्मीहरुमा पनि दोहोरो भूमिका देखिएको तर इन्सेकले भने निष्पक्ष रुपमा काम गरेको बताए  । उनले विभिन्न समयमा निर्माण भएका विभिन्न मानवअधिकार सम्बन्धि कानुन, ऐन, नियमहरु प्रभावकारी रुपमा  कार्यान्वयन हुन नसक्दा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आउन नसकेको बताए ।

कार्यक्रममा बोल्दै इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले कर्णाली प्रदेशमा आर्थिक, सांस्कृतीक र सामाजिक अवस्था दयनीय भएको कारण मानवअधिकार हनन्का घटना बढि हुने गरेका बताए । उनले यसका लागि सबै सरोकारवालाहरु लाग्नुपर्ने सुनाए ।

  • प्रकाशित मिति : ७ फागुन, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया