\
पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठक केहीबेर अघिमात्र सुरु भएको बताइएको छ । अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सहमति जुटाउनका लागि सत्ता गठबन्धनका नेताहरू अन्तिम कसरतमा छन् ।
नेकपा एकीकृत समाजवादीले हिजो मात्रै एमसिसी टेबल गर्ने निर्णय गरेसँगै गठबन्धनका नेताहरू आज छलफलमा जुटेका हुन् ।
आजको संसदमा एमसिसी टेबल हुनसक्ने संभावना बढेको छ । आजै दिउँसो १ बजेका लागि संसद बैठक आह्वान गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि संसदमा एमसिसी सम्झौता टेबल गर्ने पक्षमा छन् । उनी यसअघि शुक्रबार नै बसेको बैठकमा एमसिसी टेबल गर्ने पक्षमा थिए ।
तर, सत्तारूढ दल नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको बैठक शनिबार भएका कारणले आइतबारसम्मका लागि रोक्न आग्रह गरेका थिए । सोही अनुसार आज बस्ने बैठकमा एमसिसी सम्झौता टेबल गर्नेगरी तयारी अघि बढेको छ ।
आजको संसदको सम्भावित कार्यसूचीमा एमसिसीको विषय राखिएको छैन । संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ । समाजवादीले एमसिसी संसदमा टेबल गर्ने तर यथास्थितिमा पास नहुने बताएको छ ।
समाजवादीका प्रमुख सचेतक तथा नेता जीवनराम श्रेष्ठ आजको सत्ता गठबन्धन बैठकबाट एमसिसीबारे सहमति जुट्ने बताउँछन् ।
उनले फरकधारसँग भने, ‘आजको बैठकबाट सहमति जुट्ने बलियो संभावना देख्छु म । त्यसपछि संदसमा टेबल हुन्छ होला ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।